×

वीरगञ्ज २९ पुष । जिल्ला प्रहरी कार्यालय रौतहटले २१ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । 

आफ्नै आमालाई कर्तव्य गरी ज्यान मारेको मुद्दामा अदालतमा २२ कैद तोकेको अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रौतहटले २१ वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साविकको गेडहीगुठ्ठी गाउँ विकास समिति र हाल गरुडा नगरपालिकाको वडा नम्बर ७ बस्ने रामबाबु राय यादव रहेका छन् । यादवले २०५६ बैशाख ६ गतेका दिन आफ्नै आमा चुल्हिया देवी राय यादवको हत्या गरेका थिए । 

यादवलाई जिल्ला अदालत रौतहटले २०६० मंसिर ८ गते ज्यान मार्ने उद्योगमा १० वर्ष २ महिना २० दिन र कर्तव्य ज्यानको मुद्दामा १२ वर्ष गरी २२ वर्ष २ महिना र २० दिनका लागि सजाय सुनाएको थियो । अदालतले सजाय सुनाएदेखि यादव फरार रहँदै आएका थिए । 

सोहीक्रममा यादवलाई खोज्दै जाँदा २०७७ पुष २३ गते उनि गरुडा नगरपालिका वडा नम्बर २ गेडहीगुठ्ठी टोलबाट पक्राउ परेका थिए । पक्राउ परेका यादवलाई रौतहट जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि पेश गरी मंगलबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

Back to top