×

वीरगञ्ज २९ पुष । यती एयरलाइन्सले वीरगञ्ज र आसपास क्षेत्रका पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सुरु गरेको छ । साताको प्रत्येक शनिबार बाराको सिमरा विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु भएको यती एयरलाइन्सले बताएको छ ।

अहिले आन्तरिक पर्यटकलाई सगरमाथा, लाङटाङ र मकालु रेन्जका करिब एक दर्जन हिमालको दृश्यावलोकन गराइरहेको कम्पनीका हवाई सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

तत्कालका लागि बारा, पर्सा र मकवानपुरका आन्तरिक पर्यटकलाई लक्षित गरिएको उनले बताए । यतीले काठमाडौंबाहिर पोखरा र सिमराबाट यस्तो सेवा प्रदान गरिरहेको हो ।
यसअघि विराटनगरबाट यस्तो सेवा थालिएकामा कोरोना महामारीका कारण बन्द भएको यतीले बताएको छ ।

नेपाल–भारत सीमा खुलेपछि भारतीय पर्यटक आकर्षित हुने कम्पनीका सिमरा शाखा प्रमुख सुवासचन्द्र सापकोटाले बताए । कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको नेपाल–भारत सीमाबाट मानिसको आवागमन औपचारिक रूपमा नखुल्दा भारतीय पर्यटक आएका छैनन् ।

केही दिनदेखि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेकाले नियमित तालिकाअनुसार उडान गर्न नसकिएको सापकोटाले बताए । ‘खराब मौसका कारण २ वटा बुकिङ रद्ध भए । मौसमले साथ दिए निर्धारित समयमै उडान हुन्छ,’ उनले भने ।

बिहान ९ बजे सिमराबाट उडेको जहाज करिब एक दर्जन हिमाल देखाएर सवा घन्टामा सिमरामै अवतरण हुनेछ ।

एक पटकको उडानमा २६ जना पर्यटकलाई हिमालको दृश्य देखाउन सकिनेछ । एक जना पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

यतीले तत्कालका लागि स्थानीय ट्राभल एजेन्सीसँगको सहकार्यमा यस्तो सेवा थालेको हो । ‘निकट भविष्यमा नेपाली र भारतीय पर्यटकका लागि अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने योजना छ,’ सापकोटाले भने ।

वीरगञ्ज क्षेत्र र यो नाका भएर भित्रिने पर्यटकले अब माउन्टेन फ्लाइटका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको वीरगञ्ज होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताए । सिमराबाट माउन्टेन फ्लाइट सुरु हुनु वीरगञ्ज क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि सकारात्मक भएको अध्यक्ष पन्तको भनाइ छ ।

भारतीय पर्यटकलाई लक्षित गरी खुलेका वीरगञ्ज र आसपासका होटल सीमा बन्द हुँदा समस्यामा परेका छन् ।

‘मापदण्ड पुर्‍याएर सीमा खुला गर्ने र प्रचार–प्रसारलाई तीव्र पार्ने हो भने सिमराबाट सुरु भएको माउन्टेन फ्लाइटले वीरगञ्ज क्षेत्रका होटल र पर्यटन व्यवसायलाई पनि राहत पुग्न सक्छ,’ पन्तले भने ।

Back to top