×

वीरगञ्ज २९ पुष । आर्थिक विकास र समृद्धिको एजेण्डालाई राजनीतिको केन्द्रीय उद्देश्यमा राख्न निजीक्षेत्रले आग्रह गरेको छ । 

नेपाल–भारत सोसियो इकोनोमिक फोरमले मंगलवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सहभागी उद्यमी व्यवसायीले अर्थतन्त्रको विकास नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने बताएका हुन् । अहिले देखा परेको राजनीतिक अन्योलका कारण निजीक्षेत्र सशंकित बनेको उद्यमीहरूले बताएका छन् ।

राजनीतिकर्मी आर्थिक विकासका एजेण्डामा एकमत नहुँदा अर्थतन्त्र उल्टो गतितिर उन्मुख भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । फोरमका अध्यक्ष अशोककुमार टेमानीले आर्थिक विकासका सम्भाव्यता सीमाञ्चलमा भए पनि पूर्वाधारहरू अपायक क्षेत्रमा विस्तार भइरहेको बताए ।

सरकार र कर्मचारीतन्त्रले आर्थिक विकासको सम्भाव्यतामा अगाडि देखिएका दक्षिणी सीमाक्षेत्रलाई ओझेलमा पार्ने काम गरेको आरोप टेमानीले लगाए ।

अन्तरक्रियामा पूर्वउपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रमुख कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीति र अर्थतन्त्र एकअर्काका पूरक भएको बताए । राजनीतिको मूल अभिप्राय आर्थिक विकास नै भएको दाबी गर्दै यादवले आर्थिक विकास र स्थायित्वका लागि राजनीतिक स्थिरताको आवश्यक पर्ने औंल्याए । 

अहिले देखा परेको राजनीतिक अस्थिरताको संकेतले आर्थिक सरोकारहरू स्वाभाविक रुपमा अन्योलमा परेको अध्यक्ष यादवको भनाइ थियो । ‘स्वदेशी लगानी सुरक्षित नभएसम्म बाहिरको लगानी आउँदैन । लगानीकर्तामैत्री नीति भएमात्र आर्थिक विकास र समृद्धिको बाटो सहज हुन सक्दछ,’ उनले भने । 

लगानी भित्र्याउन विगतमा पटकपटक लगानी सम्मेलन गरिए पनि स्वदेशका लगानीकर्ताको मनोविज्ञान बलियो नभएकाले बाहिरका लगानीकर्ता आउन हच्किएको उनले बताए । नीति निर्माणको तहमा कर्मचारीतन्त्र हाबी भएकाले लगानीमैत्री कानून आउन नसकेको पनि यादवले बताए । 

लगानीमैत्री नीति र विकासको अवसरका लागि संघीयता बलियो हुनुपर्ने धारणा यादवको थियो । वर्तमान सरकार संघीयता सिध्याउन लागिपरेको आरोप उनले लगाए । अन्तरक्रियामा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठले नियम कानूनका छिद्र भ्रष्टाचारको आधार बनेको टिप्पणी गरे । 

सरकारले पछिल्लो समयमा ल्याएका कानूनमा राखिएको स्वविवेकीय अधिकारले भ्रष्टाचारलाई बढाएको टिप्पणी लाठको थियो । संघका पूर्वअध्यक्ष प्रदीप केडिया, महासचिव माधव राजपाल, फोरमका उपाध्यक्ष प्रकाश खण्डेललवाल, पूर्व सहप्राध्यापक इन्दुशेखर मिश्रलगायतले आर्थिक विकास र समृद्धिका लागि लगानीमैत्री नीतिको खाँचो औंल्याएका थिए ।   

Back to top