×

वीरगञ्ज २८ पुष । बाराको कलैया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनुपर्ने माग गर्दै धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरु धर्नामा बसेपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा समेत ठप्प भएको छ ।

अस्पतालले कोरोना उपचारमा खटिने कर्मचारीलाई हालसम्म एक रुपैयाँपनि जोखिम भत्ता उपलब्ध नगराएको कर्मचारीहरुले बताएका छन् । उनीहरु अहिले अस्पतालको सेवा ठप्प पारेर उनीहरु धर्नामा बसेका छन् । 

धर्नामा बसेका चिकित्सक, स्वास्थ्यकर्मीहरुले काम गर्ने बेलामा फ्रन्टलाइनर? भत्ता दिनेमा ब्याक लाइनर? १० महिना भइसक्यो अझै कति? कोरोना भत्ता उपलब्ध गराउ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

नेपाल सरकारले कोरोना उपचारमा खटिने कर्मचारीलाई जोखिम भत्ता उपल्बध गराउने निर्णय गरेको थियो । तर, कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई पटक–पटक मौखिक एवम् लिखित रुपमा आग्रह गर्दा समेत भत्ता नदिएको उनीहरुको भनाइ छ ।

कलैया अस्पतालले गङ्गापुरमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको थियो । अस्पतालका १ सय १० जना कर्मचारी कोरोना महामारीमा खटिएका थिए । कोरोना महामारीको बेला ज्यानको जोखिम मोलेर कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएको १० महिना बितिसक्दा समेत अस्पतालले जोखिम भत्ता उपलब्ध नगराएकोले आफूहरु आन्दोलनमा जान बाध्य भएको कर्मचारीहरुको भनाई छ ।

आन्दोलनकालागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता सङ्घर्ष समिति बनाएका छन् । कोरोना जोखिम भत्ता सङ्घर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको जानकारी दिए ।

Back to top