×

वीरगञ्ज २८ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकारीनी अध्यक्ष उपेन्द्र यादबले हतास मानसिकताले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानाशाहीको बाटोतर्फ अग्रसर रहेको टिप्पणी गर्नुभएको छ ।

पार्टीको आन्तरिक झगडा मिलाउन नसक्दा प्रतिनिधि सभा विघटन गरेर संघियतालाई जोखिममा पारेको अध्यक्ष यादबको भनाई छ । वीरगञ्जमा संघिय प्रेस फोरमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादबले मधेश आन्दोलन, जनआन्दोलन लगायतबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न प्रधानमन्त्री ओली लागीपरेको आरोप लगाउनुभयो ।

विगतमा आफैले गरेका सहमतिहरु कार्यन्वयन नगर्दा आफुहरु संविधानबाट बाहिरिएको यादबले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले पार्टी फुटाउने र संवैधानिक निकायहरुलाई कब्जा गरेर निरङकुशता लाद्न खोजेको यादबको भनाई छ । संविधानले नदिइएको अधिकार प्रयोग गरेर प्रतिगमनकारी नितितर्फ प्रधानमन्त्री ओली उन्मुख भएको हुँदा यसको प्रतिकारमा सबै जनता एैक्यबद्धता भएर उत्रिनुपर्नेमा जोड दिनुभयो ।

संसद विघटन पुर्ण रुपमा असंवैधानिक र गैरसंवैधानिक कदम भएकाले सर्वाेच्चले जनताको पक्षमा निर्णय गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । ‘समावेशिता र पहिचान लगायतका सवालहरु सुन्ने वित्तिकै उहाँलाई कति भोल्टको हो कति भोल्टको करेन्ट लागे जस्तो हुन्छ’, यादबले भन्नुभयो ।

निर्वाचनको घोषणा गरेको प्रसँगमा अध्यक्ष यादबले प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चुनाबको विश्वसनियता र निष्पक्षतामा जनताले विश्वास नगर्ने दावी गर्नुभयो । संघियता, गणतन्त्र र लोकतन्त्रको पक्षमा रहेका शक्तिहरुविच एकता हुनुपर्ने र देशमा स्थिर सरकार ल्याउनुपर्ने उहाँको आशय छ ।

जनता समाजवादी पार्टीका बरिष्ठ नेता लक्ष्मणलाल कर्णले ३० वर्षसम्मको अभ्यासले आफु सर्वाेच्चको निर्णयप्रति विश्वस्त भएको बताउनुभएको छ । दुर्भाग्यवश संसद विघटन भएपनि सर्वाेच्च अदालतको निर्णय जनताको हितप्रति हुने विघटित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका कर्णको विश्वास छ ।

पत्रकार सम्मेलनमा जसपाका कार्यकारिणी सदस्य सुनिल रोहित, विघठिट प्रतिनिधि सभाका सदस्यहरु प्रदिप यादब, हरीनारायण रौनियार, प्रदेश सभा सदस्यहरु जन्नत अन्सारी, प्रह्लाद गिरी, करिमा बेगम, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी, जसपाका केन्द्रिय सदस्य राजेशमान सिँह, शिव पटेल, जसपा पर्साका अध्यक्ष रामनरेश यादब, रम्भा मिश्रा, जसपा पर्साका सचिब तबरेज अहमद लगायतको सहभागिता रहेको थियो ।

संघिय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेलको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सहजिकरण पत्रकार श्याम कुश्वाहाले गर्नुभएको थियो ।

Back to top