×

वीरगञ्ज २८ पुष । गत शनिबार वीरगञ्जबाट हराएका शिवेस कलवार र प्रनेश शर्मा आफै पटना पुगेको बुझिएको छ । आइतबार दिउँसो पटनामा भेटिएका उनीहरु त्यहाँ आफै घुम्न पुगेको स्वीकार गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ स्थति चुरोट फ्याक्ट्रीको गल्लीस्थित सूर्या हस्पिटल नजिकबाट शनिबार बिहान ११ बजे ट्युसन पढेर निस्केपछि उनीहरु वेपत्ता भएका थिए । 

स्थानीय व्यवसायी जगरनाथप्रसाद कलवारका छोरा शिवेस र दिपेश शर्माका छोरा  प्रनेशलाई सोमबार भारतीय प्रहरीसँगको सहकार्यमा परिवारजनले वीरगञ्ज ल्याएका छन् । शिवेस र प्रनेश आपसी सहमतीमा पटना पुगेको स्वीकार गरेका छन् । 

सुरुमा उनीहरु वीरगञ्जको सिमावर्ती शहर रक्सौलबाट शिवेसको आग्रहमा बेतियासम्म गएका थिए । त्यसपछि प्रनेशले आफ्नो फुपूको घर पटनामा भएको बताएपछि रात्रिबस चढेर उनीहरु त्यहाँ पुगेको परिवारका सदस्यले बताए । शनिबार ट्युसन सकेर उनीहरु साइकलमा रक्सौल तर्फ लागेका थिए । 

घरपरिवारका सदस्यले दुवै बालकहरु एकअर्काको घरमा भएको ठानेर दिउँसोसम्म सोधखोज गरेका थिएनन् । शिवेस र प्रनेसह दैनिक ट्युशन पढेर सँगै ब्याडमिन्टन खेल्न गर्थे । दुवै मिल्ने साथि भएको हुनाले अभिभावक उनीहरु एकअर्काको घरमा भएको भनेर विश्वस्त थिए । तर साँझसम्म पनि दुवैजना घर नफर्केपछि परिवारले सोधखोज गर्दा उनीहरु बेपत्ता भएको पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यले उनीहरु खोजतलाश गर्दै प्रहरीलाई खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय विर्तामा बालकहरु हराएको सूचना प्राप्त भएसँगै प्रहरी निरीक्षक राजेश राज पुरीले उनीहरुलाई खोज्न प्रहरीलाई सक्रिय बनाएका थिए । पुरीको टोलिले उनीहरुको शनिबार रातभर जिल्लाका विभिन्न स्थानमा खोजी कार्य गरेको थियो । उनीहरु अध्ययनरत ट्युशन र त्यहाँबाट निस्केको सिसिटिभी फुटेजहरू प्रहरीले निगरानीमा राखेको थियो । 

बालकका अभिभावक व्यापारी घरानाका भएको हुनाले उनीहरूको अपहरणमा परेको चर्चासमेत चलेको थियो । तर प्रहरीले सिसिटिभी फुटेजबाट त्यस्तो नभएको बताए पनि खोजतलाशमा तीव्रता ल्याएको थियो । घरपरिवारका सदस्यले सामाजिक सञ्जालदेखि देश विदेशमा रहेका आफन्तसम्म बालक हराएको बारेमा सूचना प्रवाह गरेका थिए । सोही क्रममा प्रनेश पटनामा रहेको फुपूसमक्ष यो खबर पुगेको थियो । फुफाले स्थानीय पटना प्रहरीलाई खबर गरेपछि पटना बसपार्कबाट आइतवार उनीहरूलाई प्रहरी नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दुवै बालकका परिवारलाई सूचित गरेपछि वीरगञ्जबाट उनीहरूलाई लिनका लागि टोली पुगेको थियो । प्रनेश शर्माका परिवारजन र जगरनाथ कलवारका परिवारजन पटना पुगेर आआफ्नो बच्चालाई प्रहरीबाट बुझेका थिए । दुवैलाई सकुसल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।  

Back to top