×

फाइल तस्विर ।

वीरगञ्ज २७ पुष । ज्यको ढुकुटीबाट ६ वटा गाडी (काठमाडौं र वीरगञ्जमा जगेडा), साढे २ लाखको आइफोन ११ प्रो म्याक्स, निवासैपिच्छे लाख–लाखका पलङ, काठमाडौं र जनकपुरमा २ लाख ८० हजार पर्ने २ थान ट्रेडमिल, वाशिङ मशिन, फ्रिज... विलासिताका सामान कति हो, कति ।

कोरोना महामारीका कारण सिंगो देशको अर्थतन्त्र चपेटामा परेका बेला २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यको ढुकुटीबाट खरिद गरी प्रयोग गर्दै आएका सामान हुन्, यी ।

सिंगो प्रदेश गरीबीको चपेटामा रहेको र हजारौं नागरिक बेरोजगार भएका बेलामा मुख्यमन्त्री राउतले भने राज्यकै ढुकुटीबाट विलासिताका महंगा–महंगा सामान खरिद गरेका छन् ।

नागरिकले तिर्ने राजस्वबाट प्राप्त सरकारी सम्पत्तिमाथि उनको मोह यतिसम्म बढेको छ कि उनको जीवनशैली कुनै राजा–महाराजाको भन्दा कम छैन । पूर्णरूपमा राजशी ठाँट देखिएको छ । 

पछिल्लोपटक उनले २०७७ साल मंसिर २५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २ लाख ४५ हजार रुपैयाँमा एप्पल कम्पनीको ‘आइफोन ११ प्रो म्याक्स’ मोबाइल किनेर प्रयोग गरिरहेका छन् ।

सबैभन्दा बढी मूल्य पर्ने ५१२ जीबीको आइफोन ११ प्रो म्याक्सको मूल्य नेपाली बजारमा करीब २ लाख १५ हजार रुपैयाँ पर्छ । उक्त आइफोन मुख्यमन्त्रीका लागि भने महंगो मूल्य तिरेर खरिद गरेको देखिन्छ ।

उनले यसअघि पनि २९ हजार ६४६ रुपैयाँको जियोनी मोबाइल र २२ हजार १२४ रुपैयाँमा सामसङको ‘जे सेभेन’ मोबाइल पनि सरकारी खर्चमा खरिद गरेर प्रयोग गर्दै आएका थिए ।

ती मोबाइल अहिले के अवस्थामा छन्, पत्तो छैन । न ती पुराना मोबाइल फिर्ता गरिएको छ, न प्रयोगको जानकारी कार्यालयसँग छ ।

‘पहिलेको मोबाइल बिग्रियो वा के भयो त्यसबारे थाहा भएन, तर नयाँ ब्राण्डेड मोबाइल किन्नुपर्ने भनेर मुख्यमन्त्रीज्यूबाट भएको आदेशअनुसार नै एप्पल कम्पनीको ब्रान्डेड मोबाइल किनेर उहाँलाई दिइएको हो,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्टोर किपर रामस्वार्थ महतोले भने ।

यति मात्र होइन मुख्यमन्त्री राउतले व्यायाम गर्नका लागि दुईवटा ट्रेड मिल किन्न लगाएका छन् । ‘५ लाख ६० हजार रुपैयाँमा काठमाडौंबाट दुई थान ट्रेड मिल किनेर मुख्यमन्त्रीज्यूलाई दिइएको छ,’ उनले भने, ‘एउटा ट्रेड मिल जनकपुरको मधेश भवनस्थित उहाँको निवासमा राखिएको छ भने अर्को काठमाडौंस्थित उहाँको निवासमा पठाइएको छ ।’

मर्निङ वाक गर्न जाँदा समस्या हुने भएकाले निवासका लागि ट्रेडमिल किनिएको उनले बताए ।

प्रदेशमा सरकारी खर्चमाथि नियन्त्रण गर्नका लागि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च तथा मापदण्ड निर्देशिका नै बनाएको छ । तर, मुख्यमन्त्री राउतले नै उक्त मापदण्डलाई पालना गरेका छैनन् ।

उक्त मापदण्डअनुसार मुख्यमन्त्रीले आफ्ना लागि सरकारी पैसामा बढीमा १ करोड २० लाख रुपैयाँको एक थान सवारी साधन किनेर चढ्न पाउने प्रावधान छ । तर, राउतले एउटा होइन, चारवटा महंगा–महंगा सवारीसाधन व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् । यसका अलावा उनको सचिवालयमा प्रयोग भएका २ गाडी जोड्दा संख्या ६ पुग्छ ।

पछुवाका लागि प्रयोग हुने अर्को एक गाडी छुट्टै हो, त्यो ६ वटाभित्र पर्दैन ।

मुख्यमन्त्री राउतले आफू चढ्नका लागि १ करोड ६२ लाख ५० हजार रुपैयाँमा टोयटा रश गाडी किन्न लगाएका थिए । उक्त गाडी केही महिनाअघि दुर्घटनामा पर्दा त्यसको मर्मतमा मात्र २२ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । 

महतोका अनुसार केही महिनाअघि मुख्यमन्त्री राउत विमानमा चढेर काठमाडौं गएका बेला चालकले खाली गाडी लिएर काठमाडौं जाँदै थिए । त्यसै क्रममा मकवानपुरको भैंसेमा एकजना साइकल यात्रीलाई जोगाउन लाग्दा गाडी ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाग्रस्त गाडी २२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर मर्मत गरिएको उनी बताउँछन् ।

‘बीमाको म्याद सकिएर नवीकरण गर्न बाँकी रहेकै बेला दुर्भाग्यवश गाडी दुर्घटना भएका कारण मर्मतका लागि बीमा कम्पनीले खर्च नतिरेर मुख्यमन्त्री कार्यालयले नै खर्च गर्नुपरेको थियो,’ जिन्सी फाँट प्रमुख महतोले बताए । 

काठमाडौंदेखि वीरगञ्जसम्मका निवासमा जगेडामा गाडी

मुख्यमन्त्रीले आफूले पहिलो रोजाइमा प्रयोग गर्दै आएको रश गाडीका अलावा थप ३ वटा सरकारी गाडी आफूकहाँ राखेका छन् । 

नयाँ खरिद गरिएको प्रदेश २–०२–००१झ००५६ , प्रदेश २–०२–००१झ००६१ र गृहमन्त्रालय बाट हस्तान्तरण भई आएको को १ झ ४४४ नम्बरको गाडी उनको व्यक्तिगत प्रयोजनमा प्रयोग हुने गरेको छ ।

तीनवटा गाडीमध्ये एउटा गाडी जनकपुरमा नै वैकल्पिक भनेर राखिएको छ भने अर्को गाडी उनको गृह जिल्ला पर्साको वीरगञ्जस्थित निवासमा राखिएको छ । 

त्यसैगरी तेस्रो गाडी भने काठमाडौंस्थित निवासका लागि राखिएको छ । 

‘मुख्यमन्त्रीज्यूको काठमाडौं सवारी हुँदा विमानस्थलदेखि उहाँ जानुपर्ने सबै स्थानका लागि संघीय सरकारको गृह मन्त्रालयले एक दिनका लागि मात्र गाडी उपलब्ध गराउने गर्छ र बाँकी दिनका लागि नदिने गरेका कारण काठमाडौंमा पनि उहाँका लागि गाडी स्ट्यान्डबाइ राखिएको हुन्छ,’ महतोले भने, ‘त्यसैगरी उहाँको वीरगञ्जस्थित निवासका लागि पनि एउटा गाडी राखिएको छ ।’

मुख्यमन्त्री राउत काठमाडौं र वीरगञ्जमा नरहेका बेला ती गाडीहरू कसले प्रयोग गर्छ भन्नेबारे आफूलाई थाहा नरहेको महतोले बताए । 

त्यसबाहेक पनि नयाँ खरिद गरिएको प्रदेश २–०२–००१ झ ००४४ नम्बरको गाडी मुख्यमन्त्री राउतको पछुवाका लागि प्रयोग हुने गरेको छ । उक्त गाडीमा नेपाली सेना चढ्ने गर्छन् । 

कबाड बन्यो प्राडो

राउत मुख्यमन्त्रीमा नियुक्त भएपछि शुरूमा संघीय सरकारले हस्तान्तरण गरेको बा १ झ ७०९३ नम्बरको प्राडो गाडी चढ्ने गर्थे ।

पछि १ करोड ६२ लाख ५० हजार रुपैयाँमा आफ्ना लागि गाडी किनेपछि राउतले उक्त गाडीलाई यत्तिकै थन्क्याएका थिए ।

मधेश भवन परिसरमा नै रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको छेउमै उक्त गाडी लामो समयदेखि थन्क्याएर राखिएको छ ।

​त्यति मात्र होइन मुख्यमन्त्री राउतका दुईजना स्वकीय सचिवले समेत महंगा गाडी सुविधाका रूपमा लिएका छन् ।

राउतका प्रमुख स्वकीय सचिव जीतेन्द्रकुमार यादवले प्रदेश २–०२–००१झ००२३ र स्वकीय सचिव दीपक यादवले बा२झ २६१० नम्बरको गाडी प्रयोग गर्ने गरेका छन् ।

त्यसबाहेक प्रदेशका प्रमुख सचिव गोकर्णमणि दुवाडीले दुईवटा चारपांग्रे गाडी प्रयोग गरेका छन् ।

प्रशासनका सचिव भुपाल बराल, कानूनतर्फका सचिव टीकाराम पाण्डे र सचिव यामप्रसाद भुसालले क्रमशः एक–एक थान गाडी लिएका छन्, जुन उनीहरूलाई सरकारी सुविधामा प्राप्त हुने कुरा हो ।

त्यसैगरी मुख्यमन्त्री स्वच्छता अभियानका इञ्जिनीयर भगवान झाले एक थान गाडी लिएका छन् भने त्यसै अभियानअन्तर्गत इञ्जिनीयरहरूले चढ्नका लागि एक थान, 'बेटी पढाऊ, बेटी बचाऊ' अभियानका लागि एक थान गाडी प्रयोग गरिएको छ ।

एक वर्षमा १५ लाखभन्दा बढी रुपैयाँ ती सवारीसाधनको नियमित मर्मतमा नै खर्च हुने गरेको छ । 

मुख्यमन्त्रीलाई जनकपुरदेखि काठमाडौंसम्म सुविधा 

मुख्यमन्त्री राउतको निवास जनकपुरको मधेश भवन परिसरभित्र छ । 

त्यसैगरी संघीय राजधानीस्थित ललितपुरको हात्तीवनस्थित डाउनटाउन अपार्टमेन्टमा फ्ल्याट भाडामा लिइएको छ । उक्त फ्ल्याटको भाडा संघीय सरकारले तिर्ने गरेको छ ।

निवासमा आवश्यक पर्ने सम्पूर्ण सामानहरू भने प्रदेश सरकार आफैंले बेहोर्ने गरेको छ । जनकपुरदेखि काठमाडौं हुँदै केही सामानहरू वीरगञ्जस्थित निवासमा समेत पठाउने गरिएको एक कर्मचारीले बताए । 

जनकपुरस्थित निवासमा १ लाख १८ हजार ६५० रुपैयाँमा खरिद गरिएको वाशिङ मशिन राखिएको छ भने काठमाडौंस्थित निवासमा पनि महंगो वाशिङ मशिन राखिएको छ ।

६० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने रेफ्रिजेरेटरहरू पनि दुवै ठाउँमा राखिएको छ ।

१ लाख रुपैयाँभन्दा बढी दामका एक–एक थान पलङ दुवै ठाउँमा राखिनुका साथै महंगा–महंगा ९ सिटर कर्नर सेटसहितको सोफा तथा फर्निचरहरू जडान गरिएको छ । यी त केही उदाहरण मात्र हुन्, उनले आफ्नो निवासमा धेरै नै महंगा सामान खरिद गरेर राख्न लगाएका छन् । 

मुख्यमन्त्री कार्यालय स्थापना भएयता करोडौंको सामान खरिद 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालय स्थापना भएदेखि हालसम्म करोडौं रुपैयाँका जिन्सी सामान खरिद गरिएको छ । कार्यालय प्रयोजनदेखि मुख्यमन्त्री र सचिवहरूको निवास समेतका लागि करोडौं रुपैयाँका सामान किनेको देखिन्छ ।

ती सामानमध्ये खरिद गरिएका मुख्य सामानहरूको विवरण भने मन्त्रालयले उपलब्ध गराएको छ । सूची हेर्दा बजारमा पाइने मूल्यभन्दा बढी मूल्यमा ती सामानहरू खरिद गरेको देखिन्छ ।

१२ लाख ९४ हजार ५२० रुपैयाँमा ४० थान अफिस टेबुल, ३९ हजार २०० रुपैयाँमा ७ थान टी टेबुल, ६ लाख ४० हजार २०० रुपैयाँमा १०६ थान भिजिटर चेयर, ४ लाख ९ हजार ४४६ रुपैयाँमा २६ थान रिभल्भिङ चेयर, ३ लाख ५३ हजार ५१० रुपैयाँमा ९ थान रेफ्रिजिरेटर, १ लाख ४३ हजार ४५ रुपैयाँमा दुईथान वाशिङ मेशिन खरिद गरिएको छ । ३० हजार रुपैयाँमा एकथान टू पिस दराज, ३ लाख ३९ हजार ७६४ रुपैयाँमा स्टील दराज, १ लाख २ हजार ५०० रुपैयाँमा डाइनिङ टेबुल, ४७ हजार ९७५ रुपैयाँमा २ थान बूक फाइल क्याबिनेट खरिद गरिएको छ । 

१३ लाख ७ हजार ४३० रुपैयाँमा ३२ थान सोफा सेट, ६ लाख ६० हजार ६८० रुपैयाँ २६ थान लो बेड (पलङ), १४ लाख ९४ हजार ९०९ रुपैयाँमा २६ थान डेस्कटप कम्प्युटर, ३ लाख ३ हजार ९८६ रुपैयाँमा १२ थान प्रिन्टर, १ लाख ५१ हजार रुपैयाँमा ४ थान फ्याक्स मशिन खरिद गरिएको छ । त्यसैगरी १३ लाख ७८ हजार ८०० रुपैयाँमा १४ थान ल्यापटप, ३ लाख ७० हजार ५० रुपैयाँमा १५ थान थप प्रिन्टर, २८ लाख ६८ हजार ८३३ रुपैयाँमा ३९ थान एसी, ४ लाख ३२ हजार ८८६ रुपैयाँमा १० थान टेलिभिजन, ५ लाख ५८० रुपैयाँमा ७ थान मोबाइल फोन खरिद गरिएको छ ।

२ लाख ९३ हजार ५६७ रुपैयाँमा १६ थान यूपीएस, ९१ हजार ६६५ रुपैयाँमा ३ थान वाटर फिल्टर, ९ लाख ८२ हजार ६८७ रुपैयाँमा २२ थान स्टेप्लाइजर, १ लाख ५५ हजार ४०५ रुपैयाँमा ४६ थान सिलिङ पंखा, १ लाख ६५ हजार ४४४ रुपैयाँमा ३४ थान स्ट्यान्ड पंखा, ४ लाख ४५ हजार १३७ रुपैयाँमा २ थान फोटोकपी मशिन खरिद गरिएको छ । 

७३ हजार २९० रुपैयाँमा ६ थान भ्याकुम क्लिनर, २ लाख ५८ हजार रुपैयाँमा ३ थान मिटिङ टेबुल, ४७ लाख ७९ हजार ७०० रुपैयाँमा २४ थान मोटरसाइकल, २ लाख ८ हजार ६९७ रुपैयाँमा ४ थान गिजर, ५ लाख ६० हजार रुपैयाँमा २ थान ट्रेड मिल, ८६ हजार रुपैयाँमा एक थान क्यामेरा, १२ हजार १६५ रुपैयाँमा १ थान पानस, ८६ हजार रुपैयाँमा १ थान प्रोजेक्टर, ११ हजार रुपैयाँमा १ थान प्रोजेक्टर स्क्रिन खरिद गरिएको छ । 

२ लाख ४६ हजार ४०० रुपैयाँमा १२ थान गाडीको टायर, ४४ हजार रुपैयाँमा ४ थान आगो निभाउने सिलिन्डर, १२ हजार २८० रुपैयाँमा ४ थान पित्तलको गाग्री, ७६ हजार २०० रुपैयाँमा ३ थान गिजर (ग्याँस), ६ हजार ९०० रुपैयाँमा पानी तान्ने मोटर लगायतका सामानहरू खरिद गरिएको छ । लोकान्तर डटकमबाट साभार ।

Back to top