×

वीरगञ्ज २७ पुष । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले प्रचण्ड-माधव समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले हासिल गरेको उपलब्धिलाई कमजोर बनाएको आरोप लगाएका छन् । 

नेकपा बाराले सदरमुकाम कलैयामा आयोजना गरेको शक्ति प्रदर्शन तथा भेलामा बोल्दै मन्त्री पोखरेलले प्रचण्ड-माधव समूहले नेकपाले वर्षौंदेखि सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धि र समग्रमा कम्युनिष्ट आन्दोलनलाईनै कमजोर बनाएको आरोप लगाए ।

पोखरेलले प्रचण्ड-माधव समूहलाई देशभन्दा सत्ताको मोह बढी भएको बताए । 'देश विकास र जनताको जीवनस्तर वृद्धिसँग प्रचण्ड र माधव समूहलाई मतलब छैन । उनीहरुलाई सत्ताको भोक छ । पदको भोक छ,' उनले भने ।

देशको हितमा काम गर्न खोजेपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक-पटक अफ्ठ्यारोमा परेको कारण प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने निर्णय भएको पोखरेलले दावी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले भने, 'प्रधानमन्त्री ओलीले काम गर्न खोजेपनि विभिन्न षडयन्त्र गरेर पार्टीभित्रबाट अफ्ठ्यारो पार्ने काम भएपछि ताजा जनादेशका लागि संसद् विघटन भएको हो । अब जनताले सही र देशको हितका लागि सोच्ने व्यक्तिलाई छान्ने छ र बिदेशी शक्तिको इसारामा काम गर्नेलाई साइड लगाउँने छ ।'

त्यसैगरी कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री प्रभु साहले बैशाखमा प्रतिनिधिसभामा निर्वाचन निश्चित रुपमा हुनेभएकोले सबैलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका थिए । उनले अबको निर्वाचनबाट नेकपा झन् बलियो पार्टीका रुपमा उदय हुने दावी समेत गरे । 

मन्त्री साहले सुर्य चिन्ह ओली समूहसँग रहेकोले प्रचण्ड-माधव समूहद्वारा सृजित भर्ममा नपर्न कार्यकर्तालाई सुझाव दिएका थिए ।

कार्यक्रममा ओली समूहका प्रदेशका इन्चार्ज सत्यनारायण मण्डल, कानून मन्त्री लिला श्रेष्ठ, पार्टीका नेता रघुबिर महासेठ, सुमन प्याकुरेल, केन्द्रीय सदस्य राजकुमार गुप्ता, पर्सा अध्यक्ष प्रभु हजरालगायतले सरकार र पार्टीको बिबिध गतिबिधिको बारेमा प्रकाश पारेका थिए ।

बलबिर चौधरीले अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै केहिले नेकपामा प्रवेश समेत गरेका थिए ।

Back to top