×

वीरगञ्ज २७ पुष । वीरगञ्जस्थित नेसलन मेडिकल कलेजले एक दलित विद्यार्थीलाई परिक्ष दिनबाट रोक लगाएको छ । सोमबारदेखि सुरू भएको एमबिबिएस चौथो वर्षको परीक्षा दिन पुगेका दलित समुदायका विद्यार्थी रामजी रामलाई नेशनल मेडिकल कलेजले परीक्षा हलबाटै निकालिदिएको हो ।

परिक्षा दिन हलमा छिरेका रामजीलाई त्यहाँ उपस्थित शिक्षकले विधि र प्रक्रिया नपुगेको भन्दै परिक्षा हलबाट निकालेका थिए । 'म परिक्षा दिन हलमा पुगेकै थिए त्यहाँ रहेका शिक्षकले मलाई प्रक्रिया र विधि नपुगेको भन्दै हलबाट बाहिर जान भनेर निकाले,' रामजीले भने ।

शिक्षकले उनिसँगै अर्का दलित विद्यार्थी पङ्कजकुमार रामलाई पनि परिक्षा हलबाट बाहिर निकालेका थिए । कलेजले तोकेको सबै शुल्क आफुले बुझाएपनि अन्य शुल्कको नाममा नतिर्नु पर्ने शुल्क माग्दै परीक्षा दिनबाट रोकेको रामजी जानकारी दिए ।

'मैले होस्टलको मेस र बिजुली शुल्कबापत कलेजलाई ८ लाख ११ हजार ५ सय बुझाएको छु तर कलेजले मलाई वार्षिक शुल्क र बढुवा शुल्क भन्दै थप ७ लाख ५० हजार १३१ रुपैयाँ शुल्क तिर्नुपर्छ भनेको छ,' उनले भने, 'अब सरकारले गरेकै अनुगमनले नतिर्नु पर्ने भनेको शुल्क मैले कसरी तिर्ने?'

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो ।

सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए । रामजीको परिवारको आर्थिक अवस्था कमजोर छ । आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई मेडिकल कलेजहरुले भर्ना लिन समेत अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतको आदेश पछि उनले भर्ना पाएका थिए । 

उनले २०७५ सालमै शिक्षा मन्त्रालयका उपसचिवको नेतृत्वमा आएको अनुगमन टोलीले छात्रावास र मेसबाहेक कलेजले अन्य शुल्क लिन नपाउने रिपोर्ट तयार पारेको जनाए ।

'शुल्क सम्बन्धमा नेपाल सरकारले हालसम्म भएका निर्णय र कार्याविधिमा प्रष्ट उल्लेख भएबमोजिम कलेजले माग गरे बमोजिम अतिरिक्त मेस तथा छात्रावासबाहेक थप शुल्क लिन पाउने स्थिति रहँदैन,' उक्त रिपोर्टमा भनिएको छ ।
अनुगमन टोलीले तयार पारेको रिपोर्टमा प्रष्ट उल्लेख भए पनि कलेजले भने रामजीलाई अन्य शुल्क तिर्नुपर्ने भन्दै ताकेता गर्दै आएको छ ।

यस्तै २०७५ भदौ ५ गतेको मन्त्रिपरिषद् बैठकले पनि कलेजले परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदि लिने नपाइने निर्णय गरेको थियो ।

'नेपाल सरकार मन्त्रिपरिषदको सामाजिक समितिको मिति २०७२/५/३१ को बैठकको निर्णय बमोजिम चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ लाई स्वीकार गर्ने निर्णय भएकोमा उक्त नीतिमा उल्लेख भए बमोजिम तोकिएको शुल्क बाहेक अन्य शुल्क जस्तैः परीक्षा, भर्ना, पुस्तकालय प्रयोगशाला आदि लिने नपाउने व्यवस्था रहेको छ,' उक्त निर्णयमा भनिएको छ ।

कलेज सञ्चालक बसुरूद्दिन अन्सारीले भने रामजीले कलेजको बक्यौता तिरेमात्र परीक्षाको फारम दिने बताए ।
'उहाँले फारम नै भर्नुभएको छैन । पहिले परीक्षा दिनको लागि फारम भर्नु पर्‍यो । त्यसका लागि अब अन्तिम वर्षमा त बाँकी शुल्क त तिर्नु पर्‍यो नि,' अन्सारीले भने ।

उनले यसअघिका सबै वर्षको परीक्षामा सामेल गराइएको भन्दै अब भने सबै बक्यौता रकम बुझाएमात्र परीक्षा फारम दिइने जनाए ।

'उहाँहरूलाई कसैले भर्ना लिएको थिएन तर नेसनलले लियो । आज आएर गल्ती गरियो भन्ने फिल भइरहेको छ,' उनले भने । रामजीसँग लिन पाउने शुल्क नै मागेको सञ्चालक अन्सारीको दाबी छ ।

Back to top