×

वीरगञ्ज २७ पुष । जनता समाजवादी पार्टी पर्साका वरिष्ठ नेता सुन्दर प्रसाद कुर्मीले पार्टी परित्याग गरेका छन् । पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै कुर्मीले जसपा परित्याग गरेका हुन् ।

जसपाले संसद् विघटन विरुद्ध वीरगञ्जमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा आज वृहत विरोधको कार्यक्रम गरिरहेको बेला कुर्मीले पार्टी परित्याग गर्नु अहिले चर्चाको विषय बनेको छ । कुर्मीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट लेखेरपनि पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।

पार्टीको हितमा लागेर दिन-रात खट्ने कार्यकर्ताको व्यवस्थापनमा पार्टीको नेतृत्व चुकेको भन्दै कुर्मीले पार्टी परित्याग गरेको बताएका छन् । उनले पार्टीलाई जिल्लामा स्थानीय निर्वाचनदेखि संसदीय निर्वाचन समेतमा आफ्नो संयोजकत्वमा जित दिलाएपनि पार्टीले आफ्नो उचित मुल्यांकन नगरेको कारण बाध्य भएर पार्टीसँग छुटिनु परेको प्रतिक्रिया दिए । 

'पार्टीले मलाई झुलाएर राखेको थियो । जिल्लामा स्थानीय निर्वाचनदेखि संसदीय निर्वाचन समेतमा मेरो अहम भूमिका थियो,' यात्रा डेलीसँग कुरा गर्दै कुर्मीले भने, 'तर पार्टीले मेरो उचित सम्मान गरेन । दुई वर्षसम्म ढाँट्यो, त्यसैले पार्टी परित्याग गरेको हुँ ।'

पार्टीले आफूभन्दा जुनियर र धेरैपछी लागेका व्यक्तिलाई संयोजक बनाएको आरोप समेत लगाए । 'मेरो मुल्यांकन नगर्ने पार्टीको झोला बोकेर कहिलेसम्म हिड्ने मैले,'भन्दै उनले प्रश्न गरे, 'म भन्दा धेरै जुनियर र पछी आएका व्यक्तिलाई पार्टीको संयोजक बनाएर मेरो बेइज्जती गर्‍यो । त्यसैले मन फाटेर पार्टी छाड्दै छु ।'

उन्ल्ले तत्कालै कुनै अर्को पार्टीमा प्रवेश गरिहाल्ने मनसाय नरहेको प्रष्ट पार्दै भने, 'अहिले तत्कालै कुनै अर्को पार्टीमा जाँदै छु भन्ने छैन तर अबको राजनीतिक यात्रा विचार मिल्ने र कार्यकर्ताको सम्मान गर्ने पार्टीसँग हुन्छ ।'

कुर्मी गत स्थानीय तहको निर्वाचनभन्दा केहिदिन अगाडी तत्कालिन एमाले त्यागेर तात्कालिन सङ्घीय समजावादी फोरम नेपालमा प्रवेश गरेका थिए । त्यसबेला एमालेको जिल्ला कमिटि सदस्य र लोकतान्त्रिक मधेसी संगठनको जिल्ला अध्यक्षको समेत रहेका उनले पार्टी छोडेपछि फोरमलाई निर्वाचनमा सहयोग पुगेको थियो । पर्सामा कुर्मी पार्टी र कार्यकर्ता व्यवस्थापन र चुनावी रणनीतिका माहिर खेलाडी मानिन्छन ।

स्थानीय निर्वाचनको समय वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई जिताउँन कुर्मीले महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसपछि उनले पार्टीको कार्वाहक जिल्ला अध्यक्षका रुपमा जिल्लाको चार वटै प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभाका केहि क्षेत्रमा पार्टीलाइ जिताउँन त्यस्तै भूमिका निर्वाह गरेका बताईन्छ । 

Back to top