×

वीरगञ्ज २७ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ । तल्लो सदनमा बहुमत रहेको डेमोक्र्याटिक पार्टीका सांसदको अगुवाईमा ट्रम्पविरुद्ध पुनः महाअभियोगको तयारी भएको हो ।

सभामुख न्यान्सी पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्यूत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको सिएनएनले जनाएको छ ।

२५ औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टा भित्र जवाफ दिनु पर्ने छ।

अहिलेसम्मका रिपोर्टिङ्गहरुमा पेन्स २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा देखिएका छैनन् । तर सिएनएनका चिफ ह्वाइट हाउस रिपोर्टर जिम एकोस्टाका अनुसार पेन्सले २५ औँ संशोधनको विकल्पलाई पूर्ण रुपमा बन्द भने गरेका छैनन् ।

पेन्सको जवाफ सोचे जस्तो नआएमा मंगलबार तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान गर्ने तयारी भएको छ ।

डेमोक्र्याटहरुले संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा बिद्रोहका लागि उक्साएको अभियोग लगाउने तयारी गरेका छन् ।

बुधबार गएको नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएको जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न तल्लो तथा माथिल्लो सदनको संयुक्त सत्र चलिरहेको थियो ।

सभामुख न्यान्सी पेलोसी

सोही बेला हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पको उक्साहटमा उनका आक्रामक समर्थकले संसद भवनमा आक्रमण गरे । सो घटनामा प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ ।

चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएको आरोप ट्रम्पमाथि छ । सो घटनापछि ट्रम्प एक्लिएका छन् । लामो समयदेखिका उनका समर्थकहरुले पनि आलोचना गरेका छन् ।

सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको गम्भीर प्रहार रहेको र त्यसका लागि ट्रम्प दोषी रहेको भन्दै निन्दा भएको छ । विश्वका नेताहरुले पनि घटनाको निन्दा गरेका छन् ।

सन् २०१९ को अन्तिममा पहिलोपटक महाअभियोगको सामाना गरेका ट्रम्प पुनः सोही स्थानमा पुगेका छन् । अहिले रिपब्लिकन सिनेटरहरु पनि ट्रम्पविरुद्ध सार्वजनिक रुपमा बोल्न थालेका छन् ।

Back to top