वीरगञ्ज २४ पुष । प्रचण्ड-नेपाल गुट तर्फ लागेका अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन पर्सा (अनेरास्ववियू) का विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र स्वेच्छाकारी ढंगबाट प्रतिनिधिसभा विघटन गर्दै देश र जनताको भविष्यलाई सङ्कट तर्फ धकेलेको भन्दै प्रचण्ड-नेपाल समूह तर्फ लागेका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई नै विरोध पत्र बुझाएका हुन् ।
समूहको तर्फबाट जिल्ला संयोजक रामबाबु यादवको नेतृत्वमा गएको विद्यार्थी नेताहरुको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सा पुगेको टोलीले प्रजीअ आस्मान तामाङलाई ज्ञापन पत्र बुझाएको थियो ।
प्रधानमन्त्री ओलीले दम्भ र अहङ्कारका साथ् गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक, अराजनैतिक र अलोकतान्त्रिकसँगसँगै लहडी र बदनियतपूर्वक रहेको विद्यार्थी नेताहरुको आरोप छ । उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णयलाई खारेज गर्न माग समेत गरेका छन् ।
विरोध पत्र मार्फत उनीहरुले प्रतिनिधिसभा विघटन विरुद्ध देशभर भइरहेको विरोध प्रदर्शन र सभाहरुमा प्रदर्शनकारीलाई धम्क्याउने, तर्साउँने र धरपकट नगर्न चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझाउने टोलीमा प्रचण्ड-नेपाल समूह तर्फबाट अनेरास्ववियूको केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साहलगायतको सहभागिता रहेको थियो ।