×

वीरगञ्ज २३ पुष । प्रदेश नम्बर २ को धनुषा जिल्लामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिता २०७७ को पहिलो खेलमा युनिटी युथ क्लब वीरगञ्जले जित हासिल गरेको छ ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाद्वारा आयोजित प्रथम मेयर फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आरआर एफसी मकवानपुरलाई एक गोलले पराजित गर्दै युनिटी युथ क्लब वीरगञ्जले जित हासिल गरेको हो ।

पहिलो खेलमा युनिटी युथ क्लब वीरगञ्जको तर्फबाट ऋतिक खड्काले गोल हानेका थिए । खड्काको गोलले टिमलाई जित दिलाएको क्यापटेन सुनिल राउतले जानकारी दिए ।

प्रदेश स्तरीय नक आउट टुर्नामेन्ट फुटबल प्रतियोगितामा देशको विभिन्न स्थानबाट टिमहरु सहभागी भएका छन् । प्रतियोगिता जित्ने टिमलाई एक लाख रुपैयाँ नगद र ट्रोफीले सम्मान गरिने छ ।

प्रतियोगिताको उद्घाटन धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डलले गरेका थिए । उद्घाटन गर्दै उनले विकाससँगसँगै अन्य क्रियाकलापपनि आवश्यक रहेकोले प्रतियोगिता आयोजना गरिएको बताए । उनले आगामी दिनमा नगरमा खेलकुद विकासका लागि विशेष बजेटसमेत छुट्याइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतियोगिता अन्गर्गत आज फियुजन क्लब गाईघाट र बागमाती युवा क्लब सर्लाही बिच प्रतिष्पर्धा हुनेछ ।

Back to top