×

वीरगञ्ज १७ पुष । वीरगञ्जमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा ‘निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कोभिड–१९ का कारण नवीकरण हुन नसकेका वाणिज्य कार्यालयमा दर्ता भएका फर्महरुको हकमा चैत्र मसान्तसम्म र पुरानो फर्महरुको हकमा २०७८ आषाढ १० गतेसम्म समयावधि बढाइने गृहकार्य भइरहेको जानकारी गराएका थिए । उनले व्यापार पारवाहनमा उत्पन्न समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले वैध व्यापारको प्रोत्साहन र अवैध व्यापार निरुत्साहित हुनुपर्ने बताउँदै राज्य र नीजि क्षेत्रबीच दरिलो सहकार्य र सहयात्राले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिएका थिए । अध्यक्ष केडियाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय अन्तर्गत दर्ता भएको कतिपय फर्महरु कोरोनाको कारण नवीकरण गराउन छुट हुन गएका फर्महरुको नवीकरणको सहज व्यवस्था हुनुपर्ने माग समेत गरेका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै भारतको बिहार लक्ष्मीपुर रक्सौलदेखि एकीकृत भन्सार जाँच चौकीसम्मको रोड स्तरोन्नति गरी ४ लेनको बनाउनुपर्ने माग राखेका थिए । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव श्रीधर गौतमले हालको सन्दर्भमा वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयवस्तुमा कार्यपत्र प्रस्तुत गरेका थिए । वीरगञ्ज भन्सार कार्यालयका मुख्य भंसार प्रशासक महेश आचार्यले हालका दिनमा वीरगञ्ज भन्सार कार्यालयले प्रदान गर्दै सेवा सुविधा, निर्यात प्रबद्र्धनमा खेल्दै आएको भूमिका र नीजि क्षेत्रसँगको समन्वयमा पुर्‍याउँदै आएको व्यापार सहजीकरणको सम्बन्धमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अशोककुमार वैध, प्रदीपकुमार केडिया, हरि गौतम, मनोज दास, आशीष लाठ, सुमन क्याल, शिवजी साह लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Back to top