वीरगञ्ज १६ पुष । वीरगञ्जस्थित तराई हस्पिटलमा उपचारको क्रममा एक जनाको मृत्यु भएपछि पिडित आफ्न्तहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
बिहीबार बिहान सवा चार बजे अस्पतालमा उपचार लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी अजय सर्राफलाई भर्ना गरिएकोमा अस्पतालका कर्मचारीहरुले सही उपचार प्रदान नगरेको तथा विज्ञ डाक्टर पनि अस्पताल नभएको कारण आफ्न्तले गुमाउनु परेको पिडित परिवारले केही बेर अस्पताल विरुद्ध नाराबाजी गरेका छन् ।
आफै मोटरसाइकल चलाएर तराई अस्पताल पुगेका सर्राफको उपचार शुरु भएको केहि मिनेटमै अवस्था गम्भीर भएको तथा भर्ना भएको डेढ घण्टामै निधन भएको परिवारजनको भनाई छ ।
मृतक सर्राफका छोरा उत्तम सर्राफले बिहान बुबालाई बेचैनी भएपछि अस्पताल ल्याएकोमा समयमा डाक्टर अस्पतालमा उपस्थित नभएका कारण उपचार अभावमा बुबाको ज्यान गएको आरोप लगाए । पिडित परिवारले घटनाको छानविन तथा दोषी चिकित्सकहरुलाई कारवाहीको माग गरेका छन् । मृतक सर्राफका आफ्न्तजनहरुले अस्पतालबाट शव उठाउन मानेका छैनन् ।
घटनाको जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी टोलीको अस्पतालमा पुगेको थियो । अस्पताल प्रशासन तथा पिडित पक्ष बीच घटनाको विषयमा छलफल भए पनि कुनै निष्कर्ष किस्किएपछि शव उठेको छैन ।
अस्पताल प्रशासनले उपचारको क्रममा अस्पतालको तर्फबाट कुनै त्रुटि नभएको दाबी गरेको छ । बिहान अस्पतालमा इमेरजेन्सीका दुई जना डाक्टर उपस्थित रहेको तथा सर्राफलाई भर्ना गर्दा नै अवस्था गम्भीर नै रहेको अस्पताल प्रशासन बताउँछ ।
अस्पतालमा बिहान डाक्टर सुजित साह डिउटीमा रहेको तथा उनले नै उपचार गरेको बताउदैं अस्पतालका मेडिकल प्रमुख डा. जमिर अखतरले अस्पतालको तर्फबाट उपचारमा कुनै लापरवाही नभएको दाबी गरे । यद्यपि, परिवारलाई चित नबुझेको खण्डमा कानुनी उपचार खोज्न सक्ने डाक्टर अखतरले भने ।
मृतक सर्राफलाई छातीमा निमोनियाको संकेत देखिएको तथा पल्स रेट निकै कम रहेको उनले बताए । डाक्टर अखतरका अनुसार मृतक सर्राफले राति अल्कोहल पनि सेवन गरेका थिए । मृतक परिवारले भने अस्पताल प्रशासनले बताएको सबै कुरा मनगढन्ते कहानी भएको बताएका छन् ।
बिहान अस्पतालमा डाक्टर नरहेको तथा कम्पाउण्डरको भरमा अस्पताल सन्चालन गरेको आरोप परिवारजनले लगाएका छन् । मृतकका आफ्न्त अरविन्द्र कुमार सर्राफले तराई अस्पताल ज्यानमारा अस्पताल रहेको बताउदैं दोषी उपर कारवाही हुनुपर्ने माग गरेका छन् ।