×

“सुनतारु हो, नन्हकी के गाँती ना बान्ह द, ना त ठंडा से मियाज नु खराब हो जाई” वर्तमान समयमा गाँतीको प्रयोग कम भएपनि केहि दशक अघिसम्म जाडोबाट बच्नको लागि देहातमा ‘गाँती’ नै प्रमुख उपक्रमको रुपमा विद्यमान थियो । गाँती, गुदरा, घुर आदि देहाती जीवनशैलीको उपयोगी संसाधन मध्येका प्रमुख उपक्रमहरु अपवाद वाहेक आधुनिक जीवनशैलीको ओतमुनि विलिन हुने क्रम जारी छ । बच्चा मात्र होइन, जाडो छल्नको लागि व्यस्क र वृद्धवृद्धा समेतले गा“ती र घुरको सहारा लिनु पथ्र्यो । 

देहातका सामान्यजनको लागि पुस र माघको कठ्याङ्ग्रीदो जाडोबाट बच्नको लागि आजको जस्तो व्याप्त विद्युतीय संसाधन लगायतको उपलब्धता थिएन । सुत्ने र ओढने सवालमा तरई, गुदरा र कपडाको टुक्राले बनाएको रजाई र परालबाट निर्मित ओछ्यान लगायतका संसाधन भुइँमान्छेको दैनिकीसँग गाँसीएको थियो । करीब २ मिटर सुति कपडा वा मरदानी (धोती) वा घरमा उपलब्ध कपडालाई नै गाँतीको रुपमा उपयोग गरिन्थ्यो । गाँतीले टाउको देखि घुँडासम्म छोप्ने हुनाले गाँतीको उपयोगिता आजको महँगो र आधुनिक टोपी सहितको जैकेटभन्दा कम थिएन ।  

पुष महिनाको आगमनसँगै ठंडीको असर बढ्न थालेको छ । मदेसको प्राकृतिक परिवेश हुस्सुमय हुन थालेको छ । विहान हुस्सु र कहिले काँही दिउँसो हल्का घाम लाग्ने भएकोले पुष महिनामा बच्चा र वृद्धवृद्धा र रोगीलाई बढी समस्या हुने गर्दछ । जाडोयाममा ठंडीको प्रकोपबाट बच्नको लागि देहातका मानिसहरुले ‘घुर’ र ‘बोरसी’ को आगो तापेर शरिर न्यानो पार्ने प्राकृतिक निरन्तरता यथावत छ । ‘घुर’ आगो ताप्ने स्थायी साधन हो भने ‘बोरसी’लाई हिटर जस्तै एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । जाडोयाममा ठंडीबाट बच्नकोे लागि पराल, उखुको पात, धान/गहुँको भूस, गोईंठा आदिको उपयोगिता आजको परिवेशमा समेत देहाती विपन्नवर्गको अभिन्न अङ्ग जस्तै छ । 

जाडोयाममा अपवाद वाहेक देहातको प्रत्येक घरमा ‘घुर’को व्यवस्था रहेको पाइन्छ । भूस वा पराल लगायतको चाङ्गमा आगो सल्काइन्छ भने बोरसी सानो आकारको भएकोले दाउराको ससाना टुक्रा र थोरै मात्रामा भुस प्रयोग गरिन्छ । प्राकृतिक तापले शरीरलाई न्यानो पार्ने देहाती उपक्रम विद्युतीय उपक्रम भन्दापनि सस्तो र भरपर्दो संसाधन हो भन्नु पर्दा कुनै अतिश्योक्ती नहोला । आजको परिवेशमा समेत आर्थिक रुपमा विपन्न परिवारको सहारा स्थानिय स्तरमा उपलब्ध संसाधन नै जाडोबाट बच्ने उपायको रुपमा अवलम्बन गरिरहेको पाइन्छ । महँगो र अत्याधुनिक विद्युतीय हिटर जस्ता संसाधन हरेक वर्गको पहुँचमा सम्भव नहुने भएकोेले आजको परिवेशमा समेत ‘घुर’ र ‘बोरसी’ जाडो छल्ने संसाधनको रुपमा प्रयोग भइरहेको देख्न सकिन्छ । 

घुर ताप्दै खेतिपाती सम्बन्धी चर्चा मात्र होइन, गाउँदेहातको विकास सम्बन्धी चर्चाको साथै स्थानिय र राष्ट्रिय स्तरको राजनितिक चर्चा परिचर्चा पनि हुने गर्दछ । जाडोयाममा ‘घुर’को चारैतिरबाट परालको ‘बिठइ’ मा बसेर आगो ताप्ने परम्परा देहात बाहेक अन्यत्र पाउन मुश्किल छ । प्रायः मानिस गम्छाले टाउकोमा ‘मुरेठा’ (पगडी) बाँधेर चिसोबाट टाउको र कानलाई सुरक्षित राख्दछन् । ‘घुर’को वरिपरी सबै उमेर समूहको मानिस बसेर गाउँघरको समस्या लगायतका विषयमा कुराकानी गर्ने गर्दछन् । 

समुहमा बसेर आगो ताप्दै एकआपमा कुराकानी गरिरहेका दृश्यहरु गरिमामय देहाती परिदृश्य हो ।
चश्मा निकालेर मरदानी (धोती) को कुनाले आँखाको किंचर सफा गर्दै वृद्धले एक युवकलाई भन्दै थिए, “बुरबक कहिं का, अगिया मत ना खोर, बुतानु जाई बबुओ ।” युवकले भन्यो, “पुआरा त राखी हो गइल बा बाबाजी (हजुरबुबा) ओहिसे नु खोरतानी ।” अर्को एक व्यस्कले भने, “है बुरबक कहीं का, राखी नु उडता, मत ना खोर मरदे, हमर कामरा (कम्बल) राखी से भर गइल हो दादा ।” 

देहातमा घुरको आन्नद लिंदै विभिन्न प्रकारका समसामयिक विषयमा कुराकानी हुने गर्दछ, जस्तै कसको बिहे भइसक्यो ? कसको विहे हुनेवाला छ ? कसको छोरा–छोरी कहाँ पढ्दै छ ? कसको नोकरी भयो? कसले जग्गा किन्यो ? कसले सम्पती बेच्यो ? कसलाई के रोग लाग्यो ? को कुन समस्यामा छ? लगायतका यावत कुराकानी घुर ताप्ने क्रममा हुने गर्दछ । घरको बुजुर्ग मानिस बह्ममुहुर्तमा नै उठ्छन् । सर्वप्रथम घुर बाल्छन् । नित्यकर्म आदिबाट निवृत भईसकेपछि घुर ताप्छन् । घरका ससाना बच्चाहरु सुर्योदय पश्चात् उठछन् र आँखा मिच्दै घुरसम्म आइपुग्छन् । ‘फोरजी’ र ‘फाइव जी’ को परिवेशमा हुर्केका पिढीलाई यावत प्रसङ्ग एकादेशको कथा जस्तै लाग्न सक्छ तर व्यस्क तथा वृद्धवृद्धाहरुलाई झल्झल्ती याद आउँदो होला ।    

यसपालीको जाडोयाममा कोरोनाको असर र आगामी चुनावको परिदृश्य नै ग्रामिण क्षेत्रमा चर्चाको बिषय रहन सक्छ भन्नुपर्दा कुनै अतिश्योक्ति नहोला । देहातमा प्रयोग हुने ‘गाँती’ राष्ट्रिय राजनितिक परिवेशमा पनि ठ्याक्कै फिट भएको देखिन्छ । कसैले कसैलाई झुक्याउने प्रकृतिको कार्य गर्दछ भने सो सन्दर्भमा झुक्याउने पात्रले सामान्यजनलाई  ‘गाँती’ पहिर्याइ रहेको छ भन्ने देहातमा व्यङ्गात्मक रुपमा प्रयोग गर्ने शब्द हो । ओहोदाधारीहरुलाई देहातमा यसरी भन्न थालिएको छ, ‘जनप्रतिनिधि लोग जित गइल, अब आपन मान्सा पुरा करेमे लागल बा लोग, जनता जाओ खान्तामे, जनता के खुब गाँती पेन्हाइ लोगिन नेताजी ।’ अचेल ओहोदाधारीहरुले आमनागरिकलाई विकासको नाममा ‘गा“ती’ पहिर्याइरहेको सन्दर्भ पनि देहाती चर्चामा स्थान पाइरहेको छ । 

घुर तापेर जिऊ न्यानो पार्ने देहातीजन ‘प्राचिन’ र विद्युतीय उपकरण प्रयोग गर्ने मानिस ‘आधुनिक’ हुन भने होइन । समयको गतिसँगै प्राप्त संसाधन मानिसहरु प्रयोग गर्दछन् । प्राचिनकालमा हाम्रा पुर्खाहरु पनि आफ्नो पुर्खाहरुको अनुपातमा आधुनिक नै थिए भन्नुपर्छ । भविष्यमा यतिबेलाका पुस्ता पनि प्राचिन हुनेछन्  र भविष्यका सन्तती अति आधुनिक हुनेछन् । ‘गाँती’ प्रयोग गर्ने मानिस मुर्ख र महङ्गो जैकेट प्रयोग गर्ने मानिस आधुनिक हुन भन्ने मनोविज्ञानबाट बाहिर आउनु पर्छ । आफ्नो आर्थिक क्षमता अनुसारको संसाधन प्रयोग गर्ने आमजनको भावना माथि ठेस पुर्याउने काम कसैले पनि गर्नु हुँदैन । आधुनिकतालाई नै सबैथोक ठानिरहेका आजका नवपिंढीले ‘घुर’ तापेर जाडो छलेका पुर्खाका सन्तती हुन भन्ने कुरा विर्सनु हुँदैन । 

मानव जीवनशैली एकाएक परिवर्तन भएको होइन । विस्तारै परिवत्र्तन भएको हो । देहातको मुख्य परिवेशहरु विलिन हुने अवस्थामा छन् । आफ्नो भेषभूषा, भाषा र संस्कृति लागयतका लोकपरम्पराको निरन्तरतामा नवपिढीले लाज मान्ने मनोविज्ञान उदेकलाग्दो छ । पुरानो साडी र मरदानीको कैयौँ तह सिलेर तयार पारिएको ‘गुदरा’ हाम्रा पुर्खाहरुको लागि सिंहासन भन्दा कुनै कम थिएन । हाम्रा पुर्खाहरु साडी र मरदानी लागायतका कपडाले तयार पारेको ‘गुदरा’ जस्तो स्वनिर्मित विस्तरमा गहिरो निद्रा प्राप्त गर्दथे । अत्याधुनिक समाज महङ्गो विस्तर, आधुनिक परिधान र विलासी जिवनशैली लगायतका सुखशयलमा जीवन बिताइरहे पनि गहिरो निद्रा र मनोवाञ्छित शान्ति लगायतको सवालमा पुर्खाहरु भन्दा गरिब छन् भन्नुपर्दा कुनै अतिश्योक्ति नहोला । गाँती र घुरको सममिप्यतामा हुर्केर जीवन निर्वाह गर्दै आफ्नो सन्ततीलाई हिंडन सिकाएका आफ्ना पुर्खाहरुको सामान्य दिनचर्या र संस्कार स्मरण गर्दै अघि बढ्नु पर्छ । कठ्याङ्ग्रीदो जाडोमा ज्येष्ठ नागरिक लगायत गरिब, निमुखा र बेसहारा नागरिकलाई शीतलहरबाट जोगाउने उपायको सन्दर्भमा सत्ताधारी जनप्रतिनिधिहरुले कर्तव्य निर्वाह गर्नुपर्ने जनस्तरको आवाजलाई मध्यनजर गर्नुपर्ने आवश्यकता छ ।

Back to top