×

वीरगञ्ज १७ मंसिर । बाराको जितपुरसीमरा उपमहानगरपालिकाको अमलेखगञ्जस्थित कैलाश धारा तेल उधोगलाई सील गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुरको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा अखाद्य तेल उत्पादन गरेको पाइएकोले उधोगलाई सील गरिएको हो ।

कलौशको त्रिदेव ब्राण्डको तेलमा दुर्गन्धित अखाद्य पदार्थको मिसावट भएको पाइएकोले उधोगलाई शिल गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीका प्रमुख बरिष्ठ खाद्य अधिकृत बिजय खनालले बताए ।

टोलीले थप परिक्षणका लागि तेलको नमुना समेत संकलन गरेको छ । कैलाश धारा तेल मिलमा पुग्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने त्रिशक्ति ब्रान्डको आयातित तोरी तेल प्याकमा शंकास्पद देखिएकोले पनि थप परिक्षणका लागि नमुना समेत संकलन गरिएको थियो । नमुनाको थप परिक्षण गरी प्रतिवेदनका आधारमा उद्योगलाई अन्य कारवाही गरिने 
अधिकृत खनालले जानकारी गराए ।

टोलीले सिमरामा रहेको स्विट्स हाउसमा पनि अनुगमन गरेको थियो । स्विटस हाउसमा आवश्यक सुधारका लागि सात दिनको समय दिइएको उपभोक्ता हित संरक्षण मंचका उपमहानगर अध्यक्ष कमला अधिकारीले जानकारी दिए ।

अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, खाद्य तथा र गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख विक्की राउत, ईलाका प्रशासन कार्यालय सिमराका गोकर्ण बर्तौला, पत्रकार शारदा पोखरेल, जितपुरसिमरा उपमहानगरपालिका नगर कमिटीका सचिव चुडामणी गौतमलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Back to top