×

सांकेतिक तस्विर ।

वीरगञ्ज १५ मंसिर । आज पर्साका ४ वटा स्थानीय तहसहित ३ सय ९६ वटा स्थानीय तहमा अस्पतालको शिलान्यास हुँदै छ । 

पर्साको पटेर्वासुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, ठोरी गाउँपालिका र धोविनि गाउँपालिकामा गरी ४ वटा अस्पतालको शिलान्यास गर्न लागिएको हो । साथै सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको पनि शिलान्यास हुँदैछ । 

हरेक स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास हुन् लागेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बनाउने योजना अघि सारेको छ । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेअनुरुप आजै शिलान्यास हुँदै छ । 

सरुवा रोगका बिरामीले प्रदेशमा सेवा पुर्याउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । पालिकामा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका  प्रमुखले पनि शिलान्यास गर्नेछन् । 

७ सय ५३ स्थानीय तहमध्ये अस्पताल नरहेका ६ सय ४९ पालिकामा पहिलो चरणअन्र्तगत ३ सय ९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो ।

अर्थ मन्त्रालयले पहिलो चरणमा ३९६ पालिकालाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । पाँच शैय्याको अस्पतालका लागि ७० लाख, १० शैय्याको लागि ८५ लाख र १५ शैय्याको लागि एक करोड रुपैयाँ पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

Back to top