×

वीरगञ्ज १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको सम्पन्न निर्वाचनमा वीरगञ्जका दुई व्यवसायी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

शनिबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र वरिष्ठ उपाध्यक्ष सुवोध कुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

केडिया महासंघको जिल्ला नगरतर्फको कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका छन् भने गुप्ता बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । 

वीरगञ्जलाई प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रेका केडिया र गुप्ता छुट्टाछुट्टै समुहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

किशोर प्रधान समूहबाट जिल्ला नगरतर्फको कार्यकारिणी समितिको सदस्यमा निर्वाचन लडेका गोपाल केडियाले ५५ मत ल्याएका थिए । त्यसैगरी चन्द्र ढकाल समूहबाट बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचन लडेका गुप्ताले पनि ५५ मत ल्याएका छन् ।

बस्तुगत तर्फबाट केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित गुप्ता नेपाल चामल, दाल, तेल उद्योग संघका राष्ट्रिय अध्यक्ष समेत हुन् । केडिया र गुप्ता वीरगञ्जका कयौं प्रतिष्ठित संघ संस्थाहरुको सदस्य पनि रहेका छन् ।

Back to top