×

वीरगञ्ज १२ मंसिर । पर्साको बिन्दबासिनी गाउँपालिकामा आयोजित नेकपाको सपथ ग्रहण कार्यक्रममा पूर्व एमाले र पूर्व माओवादी पक्षबीच भएको झडपमा परेर मृत्यु भएका मुकेश चौरसिया हत्याकाण्डले नयाँ रुप लिएको छ ।

हत्याकाण्डमा मुख्य आरोपी बनाइएका पूर्व संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्तासहित सातजनालाई जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले उन्मुक्ति दिएको छ । जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दुई छुट्टाछुट्टै मुद्दामा २७ जनालाई दोषी बनाइएको थियो ।

मृतक मुकेश चौरसियाका भाई महेश चौरसियाले पूर्व सभासद राजकुमार गुप्तालाई घट्नाको मुख्य आरोपी एवम् योजनाकार बताउँदै जिल्ला न्यायाधिवक्ताको कार्यालय मार्फत उनिसहित १२ जना पूर्व एमालेका नेताहरु विरुद्ध जाहेरी दर्ता गराएका थिए भने केहि दिनपछि पूर्व एमाले पक्षाका नेताहरुले मुकेशको लागी न्याय माग्दै सडकमा उत्रेका १५ जना पूर्व माओवादी विरुद्धपनि सोहि घटनामा उजुरी दिएका थिए । 

दोषी बनाइएकामध्ये प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालय वीरगञ्जले एक पक्षबाट राजकुमार गुप्ता, धीरज चौरसिया, वकील गद्दी र अर्को पक्षबाट नागेन्द्र चौधरी, रामचन्द्र साह, छोटेलाल यादव, परशुराम साहलगायत सातजनालाई घटनामा संलग्न नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।

जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीका अनुसार घटनामा उल्लिखित व्यक्तिहरूको नाम प्रहरी प्रतिवेदनमा नदेखिएको कारण तथा प्रहरी अनुसन्धानबाट पनि उक्त घटनामा ती व्यक्तिहरू संलग्न नदेखिएको अनुसन्धानबाट खुलेकाले उनीहरु विरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको जानकारी गराए । 

जिल्ला न्यायाधिवक्ताको कार्यालयले घटनामा मुख्य योजनकार बनाइएका पूर्व सभासद गुप्तामाथि मुद्दा नचलाउँन निर्देशन दिएसँगै पार्टीका कार्यकर्ताहरुले उनको भव्य स्वागत गरेका छन् । गुप्तालाई नेकपाका नेताहरुले उनको श्रीपुरस्थित घरमा फूलमाला लगाई स्वागत गरेका थिए ।

गत कात्तिक ६ गते बिन्दबासिनी गाउँपालिकास्थित पर्सौनी भाठामा आयोजित नेकपाको गाउँपालिका स्तरीय सपथ ग्रहण कार्यक्रममा पूर्व एमाले पक्षाका केहि व्यक्तिहरुले आफुलाई नसमेटीएको भन्दै विवाद गर्दा झडप भएको थियो । झडपमा परेर गाउँपालिका कमिटिको सचिव समेत रहेका मुकेश चौरसियाको टाउकोमा चोट लाग्दा उनि सख्त घाइते भएका थिए । भोलिपल्ट वीरगञ्जस्थित एक निजि अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

Back to top