×

फाइल तस्विर ।

वीरगञ्ज ४ मंसिर ।  सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।

नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उहाँले सरकार पुनर्गठन गर्दा पार्टीभित्रको विवाद अन्त्य हुने अवस्था आए राजीनामा दिन तयार रहेको बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताए ।

पार्टी दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको भट्टराईले दावी गरे ।

कार्यकर्ताहरुलाई पार्टीको अन्र्तविरोधमा पेट्रोल नछर्कन पनि उनले आग्रह गरे । इतिहासकै कठिन क्षणमा पार्टी रहेको बताउँदै उनले कठिनाईलाई पार गर्दा १०/२० वर्ष केही नहुने दावी गरे । सरकार पार्टी सञ्चालन गर्दा नेतृत्वबीच समझदारी र छलफल आवश्यकता रहेको उनको भनाइ छ । 

नेकपा पर्साका अध्यक्ष प्रभु हजाराको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवम् प्रदेश न. २ का सहइन्चार्ज नागेन्द्र चौधरी, पर्साका इन्चार्ज रामचन्द्र साह, पर्साका सच्वी विजय महतो, संविधानसभा सदस्य विचारी यादवलगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । 

Back to top