×

सुबोध कुमार गुप्ता

नेपाल कृषि प्रधान देश हो । नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइ जति रहेको र दुई तिहाइभन्दा बढी जनता कृषिमै आश्रित रहेको सरकारी तथ्यांकमा उल्लेख गरिएको पाइन्छ । 

नेपालको करिब पौने ३ करोड जनसंख्यामध्ये करिब ४० लाख नेपाली वैदेशिक रोजगारीको शिलशिलामा खाडि मुलुकमा छन् । नेपालमा वर्षेनी ३४ देखी ३५ अर्ब रुपैयाँको चामल तरकारी आयात हुने गरेको छ । कृषि प्रधान देशमा यति धेरै मात्रामा आयात हुनु पक्कै पनि लज्जास्पद विषय हो । 

कुनै पनि देश कृषिक्रान्तिपछि औद्योगिक युगमा प्रवेश गर्छ, त्यसपछि सेवा क्षेत्रमा आउने हो, तर विगत १५ बर्षदेखि हामी उल्टो बाटोमा हिडिरहेका छौं । चार महिनामा झण्डै पौने सात अर्ब रुपैयाँको चामल र  पौने ४ अर्ब रुपैयाँ बराबरको तरकारी आयात हुने देशलाई कृषि प्रधान देश कसरी भन्ने प्रश्न तेस्रिएको छ । 

नेपालले ४ महिनाको अबधिमा २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गर्नुले कृषिमा आधारित अर्थतन्त्र नभएर सेवामा आधारित अर्थतन्त्र बन्न पुगेको प्रमाणित गर्छ ।

बार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य बस्तु आयात गरिरहेको देशको कूल गार्हस्थ उत्पादनमा ५५ प्रतिशत जति योगदान सेवा क्षेत्रको पुगिसक्यो । तसर्थ अब हामीले कृषि प्रधान देश भन्न छोडेर सेवामा आधारित अर्थतन्त्र भएको देश भन्दा कुनै फरक नपर्ला । 

कृषि गरेर न त खाद्य सुरक्षा नै प्रदान गर्न सकियो, न रोजगारी न त बिदेशी मुद्रा आर्जन गर्न । तर सेवा क्षेत्रले बेरोजगारीलाई न्युन गर्नुका साथै बिदेशी मुद्रा आर्जन गर्ने अवसर पनि सृजना गरेको कुरालाई नकार्न सकिन्न । 

नेपालको जमिनलाई भरपुर उपयोग गरेर उत्पादनको साधन बनाउनुपर्नेमा पछिल्लो समय नेपालीहरु सेवा क्षेत्रतर्फ आकर्षित हुँदा यसले आयातलाई बढावा दिएको पनि सबैलाई अवगत भएकै कुरा हो । 

कृषि क्षेत्रले दिनुपर्ने जति प्रतिफल नदिएको र सेवा क्षेत्रमा सम्भाबना बढी भएका कारण कृषि क्षेत्र खिइदै गएको छ । यसमा मुख्य दोष सरकारको निति र निति  निर्माताहरुको छ भन्दा गलत नहोला । 

नेपालमा प्रसस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सरकारको गलत निति र असहयोगका कारण उद्योग कारखानाका लागी चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता आम उद्योगी व्यावसायिलाई छ । समृद्धि हासिल गर्न सकिने एउटा मात्रै बाटो भनेको नेपाल जस्तो राष्ट्रको लागी कृषि नै अतिउत्तम विकल्प हो । 

पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन छ, तराई मधेश क्षेत्रमा भएको जमिनको पनि खन्डिकरणले उत्पादन क्षमता घट्दै गएको छ । हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन सकिरहेका छैनौ । 

फलस्वरुप नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समुहले यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर कृषिमा क्रान्ति ल्याउनमा पहल गर्ने आश गर्न सकिन्छ ।

लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।

Back to top