×

वीरगञ्ज २ मंसिर । पर्साको पकाहमैनपुर गाउँपालिकामा दलित समुदायका बालबालिकाहरुलाई शिक्षा तर्फ आकर्षित गर्न शैक्षिक सामग्री वितरण गरिएको छ ।

गाउँपालिकामा रहेका विभिन्न दलित समुदायका १ सय १० जना भन्दापनि बढी बालबालिकाहरुलाई स्कुल युनिफर्म दुई सेट, जुत्ता, मोजा, स्कुल झोला, कापी, कलम, पानी खाने बोतल, टिफिन बक्सलगायत अन्य आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष विजय चौरसियाले बालबालिकाहरुलाई सामग्री वितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले गाउँपालिकामा शिक्षाको पहुँच हरेक समुदायमा पुर्‍याउने उद्दश्यका साथ शैक्षीक सामग्री वितरण गरिएको बताए ।

शैक्षिक सामग्रीको आभावमा दलित समुदायका बालबालिकाहरु शिक्षाबाट बञ्चित भइरहेको कारण विशेष प्राथमिकताका साथ् गाउँपालिका दलित बालबालिकाहरुलाई सामग्री वितरण गरिएको उनले बताए । 

'गाउँपालिकामा शिक्षाको स्तर उकासन हरेक बालबालिकालाई विद्यालय पुर्‍याउने हामीले लक्ष्य लिएका छौँ ,' अध्यक्ष चौरसियाले भने, 'त्यही लक्ष्य अनुरुप आज शैक्षिक सामग्री वितरण गरीएको छ । यसलाई निरन्तरता दिने छौँ र बाँकी रहेका बालबालिकाहरुलाई क्रमस सामग्री वितरण गरिने छ ।'

अध्यक्ष चौरसियाले गाउँपालिकाबाट हरेक वर्ष दलित बालबालिकाहरुलाई शिक्षा तर्फ आकर्षित गर्न यस्ता कार्यक्रमहरु ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 

उनले शिक्षा क्षेत्रमा सुधारका लागि आफ्नो कार्यकालमा गाउँपालिकामा रहेका विद्यालयका भौतिक संरचनामा सुधारदेखि शिक्षामा रहेको बेथितहरुमा सेमत कमि आएको दावी गरे ।
 
कार्यक्रममा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मदन साह कानु, वडा नम्बर ४ का वडा अध्यक्ष ढेरी प्रसाद यादव, जसपाका नेता मदन सोनार, सुरेश प्रसाद यादव, जाल महम्मदलगायत स्थनीय अगुवाहरुको उपस्थिति रहेको थियो ।

Back to top