×

वीरगञ्ज २ मंसिर । निजि सवारीको प्रयोग गरेर कपडा तस्करी गर्ने दुई व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला स्थित ईलाका प्रहरी कार्यालय जीतपुरले भारतबाट राजश्व छली गरेर निजि गाडीमा ल्याइएको ६ लाखभन्दा बढी मूल्य बराबरको कपडा सहित दुई व्यक्तिलाई पक्राउ गरेको हो । 

प्रहरीले प्राप्त गरेको विशेष सूचनाको आधारमा वीरगञ्जबाट हेटौँडा तर्फ जाँदै गरेको प्रदेश २ ०१-०२२ च ७०७० नम्बरको निजि ब्रेजा गाडीलाई चेकजाँच गर्दा गाडीको डिक्कीलगायत अन्य स्थानमा कपडा लुकाएर राखिएको थियो । 

प्रहरीले धादिङ्ग जिल्ला संकोच घर भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ तेजारथ टोल बस्ने कृष्ण नारायण श्रेष्ठ र अबैध पकडाको कारोबारमा संलग्न भारत बिहार पश्चिमी चम्पारण बेतिया जिल्ला सिक्टा घर भई वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने इस्ताक अंसारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक देवबहादुर चन्दले जानकारी दिए । 

पक्राउ परेका अन्सारीले कपडाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया बस्ने कपडा व्यवसायी नानु शेखको भएको बयान दिएको प्रहरीले जनाएको छ । 

निजी सवारीमा अबैध कारोबार गरेको शंका नलागोस भन्ने देखाउँन कपडा कारोबारी शेखले गाडीमा दुई वटा बच्चालाई समेत बसाएर पठाएको प्रहरीले जानकारी दिएको छ । गाडीमा रहेका बच्चाहरुलाई उनकी आमाको जिम्मा लगाएर फिर्ता पठाईएको प्रनानि चन्दले बताए ।

बच्चाहरुलाई श्रेष्ठ र अन्सारीले घुमाउने बहानामा गाडीमा बसाएको उनीहरुकी आमा सबिना खातुनले बयान दिएको चन्दले जानकारी दिए । बच्चाको परिवारसँग श्रेष्ठ र अन्सारीको पहिलादेखि नै चिनजान रहेको उनीहरुका पिता जाहिद हुसेनले बताए । उनीहरुपनि छपकैया निवासी हुन् ।

बरामत गरिएको कपडा र सवारीलाई प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउँने तैयारी गरेको चन्दले जानकारी दिए ।

Back to top