×

वीरगञ्ज १ मंसिर । लागुऔषध चरेश र विनरेक्ससहित पर्सा प्रहरीले तिन युवकहरुलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया बस्ने २८ बर्षिय अभिषेक श्रीवास्तव र वडा नम्बर ५ बस्ने २३ बर्षिय धिरज पटेल रहेका छन् ।

प्रहरीले प्राप्त गरेको विशेष सूचनाको अधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई वीरगञ्ज वडा नम्बर १६ स्थित मितेरी पुल नजिकै चेकजाँच गर्नेक्रममा लागुऔषधसहित चरेशसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका श्रीवास्तवको साथबाट प्रहरीले २ किलोग्राम चरेश र पेटलको साथ्बाट २ किलोग्राम ४ सय ४५ ग्राम गरी ८ सय ९० ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले विस्कुटको कार्टुन भित्र लुकाएर भारतबाट ल्याउँदै गरेको लागुऔषध सहित एक अर्का युवकलाई पनि वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुर टोल बस्ने ४४ बर्षका विनोद गुप्ता रहेका छन्।

प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ खल्वाटोल र्सिसियाबाट भारतको रक्सौलबाट आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

चेकजाँच गर्नेक्रममा प्रहरीले गुप्ताको साथमा रहेको बिस्कुटको कार्टुनमा लुकाएर ल्याएको विनरेक्स ३० बोतल बरामद गरेको छ।

लागुऔषध चरेश र विनरेक्ससहित पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Back to top