×

वीरगञ्ज २६ कात्तिक । भारतको बीहार राज्यमा सम्पन्न विधानसभाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

अन्तिम मतपरिणाम अनुसार भारतीय जनता पार्टी (विजेपी) र जनता दल युनाईटेड (जेडीयू) लगायत मिलेर बनेको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत प्राप्त गरेको छ । 

२४३ सिटका लागि भएको विधानसभा चुनावमा एनडीएले १२५ सीट जितेसँगै फेरि पनि सरकार बनाउन जनादेश पाएको हो ।​ यस गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार वर्तमान मुख्यमन्त्री नीतिश कुमार छन् ।  

बिहारमा सरकार गठनका लागि १२२ सिटको बहुमत आवश्यक पर्छ । एनडीएसँग टक्कर दिएको भारतीय कांग्रेस, राष्ट्रिय जनता दल (आरजेडी), कम्युनिष्ट पार्टीलगायत मिलेर बनेको महागठबन्धनले भने ११० सीटमा चित्त बुझाएको छ । राष्ट्रिय जनता दलका तेजस्वी यावदले महागठबन्धनको नेतृत्व गरेका छन् ।

पार्टीगत रुपमा जनता दल युनाइटेड (जेडीयु) ४३ स्थानमा विजयी भएको छ । महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटका साथ विधान सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । 

भारतीय जनता पार्टी (भाजपा) ७४ सिटका साथ दोस्रो नम्बरमा आएको छ । यसअघि सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपाले ५३ सिटमा चुनाव जितेको थियो । 

यो चुनाव भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस यो चुनावमा जम्मा १९ सिटमा खुम्चिएको छ । कम्युनिष्ट पार्टीले १६ सिट हात पारेकाे छ ।

मंगलबार बिहानदेखि सुरु भएको मतगणनाको नतिजा सार्वजनिक भएको हो । सुरुमा महागठबन्धन अघि रहेको भए पनि पछि एनडीए विजयी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

कोरोना महामारहीकै बीचमा बिहारमा तीन चरणमा गरी निर्वाचन सम्पन्न भएको थियो । पछिल्लो चरणको निर्वाचन यसै नोभेम्बर ७ मा भएको थियो ।  जीतसँगै नितिशकुमार सातौै पटक बिहारको मुख्यमन्त्री बन्ने पक्का भएकाे छ। 

Back to top