×

पर्सा २४ कत्तिक । पर्सामा सशस्त्र प्रहरी बलको तिन वटा नयाँ बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएका छन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ स्थित टिहूँकी, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र ठोरी गाउँपालिकाको ब्रम्हनगर नयाँ बीओपी स्थापना गरिएको हो ।

तिनवटै बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कृष्णभक्त ब्रम्हाचार्य, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र सम्बन्धित गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनासम्मको टोली खटाइएको हुन्छ । उनीहरुले सीमा रक्षा तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, त्यस क्षेत्रको शान्ति सुव्यवस्था स्थापनाका लागि काम गर्छन् । यसअघि जिल्लामा सशस्त्र प्रहरीको १० वटा बीओपी थिए ।

बिओपी उद्घाटन गर्दै डिआइजी कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए । उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसँग अनुरोध समेत गरे ।

‘भारतसँग खुल्ला सीमा भएकोले भन्सार छलेर मालसमान ल्याउने, वन पैदावारको तस्करी, चेलीबेटी बेचबिखन, लागूऔषध, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवाद जस्ता गहन समस्याहरू आउने गरेको छ,’ डीआईजी ब्रहचार्यले भने, ‘ बीओपीले यी समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सुरक्षा राज्यको सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताउदै बिओपी स्थापनाले सिमावर्ती सिमा क्षेत्र र शान्ति सुरक्षाको अवस्था मजबुत हुने विश्वास व्यक्त गरे ।

उदघाटन कार्यक्रममा छिपहरामाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले सशस्त्र प्रहरी जनताको हितको लागि भएको उल्लेख गर्दै बिओपी स्थापनाले सिमावर्ती क्षेत्रका स्थानीयलाई सास्ती हुने भ्रम नपाल्न आग्रह गरे ।  

'सशस्त्र प्रहरीको बिओपी उदघाटनले जनता खुशी भएका छन । बाढीपिडित क्षेत्रमा सशस्त्र प्रहरीको सहयोग र उद्धार कर्य सराहनिय छ,' अधयक्ष गुप्ताले भने । अध्यक्ष यादवले बिओपीको लागि गाउँपालिकाले हरेक सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गर्दै आगामी दिनमा जग्गा अभावको समस्यालाई समेत समाधान गरिने बताए । 

पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाली सेनाका गणपति मदनजंग राणा,  छिपहरमाई गाउँपालिकाका  प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, वडा अध्यक्ष महेन्द्र साह कलवार, बिनोद साह, मौजिलाल साह, राजबली यादव, रामबालक गद्दी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपसभापति अनुप तिवारी, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मिर्जापुरका सशस्त्र प्रहरी निरिक्षक भिम रावल, भिस्वाका सशस्त्र प्रहरी निरिक्षक सञ्जिव बानियाँ, स्थानीय संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Back to top