×

पर्सा १९ कात्तिक । पर्साको ठोरी गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुको अवलोकन गरिएको छ । 

राष्ट्रिय मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तको नेतृत्वमा ठोरी पुगेको टोलिले बुधबार गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठसँग ठोरीमा रहेका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरुको अवलोकन तथा अनुगमन गरेका थिए ।

पर्यटीय स्थलहरुको अनुगमन गर्दै अध्यक्ष डा. दत्तले ठोरीलाई पर्सा जिल्लाको पर्यटकीय स्थलका रुपमा विकास गर्न आफुले हरेक सम्भव भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकामा रहेको सीता गुफाको निरीक्षण गर्दै भगवान श्रीराम चन्द्रको जन्मभूमि बारे थप अनुसन्धान, खोज र अध्ययन गरिने बताए । 

उनले ठोरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैँ भगवान रामको विशाल मन्दिर निर्माण गर्न आफुले आयोग मार्फत सिफारिस गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

डा. दत्तले ठोरीमा रहेको बिबादित ठुठे खोलालगायत अन्य खोला र नदिहरुको समेत अनुगमन समेत गरेका थिए ।  गाउँपालिकाको वडा नम्बर ३ का जङ्गलबाट जनवारलाई रोक्न लगाइएको काँडेतारको निरक्षण गर्दै उनले स्थानीयहरुसँग सिमा क्षेत्रमा हुने गरेको भारतियको हस्तक्षेपको बारेमा समेत छलफल गरेका थिए । 

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले राम मन्दिर बनाउन ५ करोडको डीपीआर तयार गरी पर्यटन मन्त्रालयमा पेस गरेको, गाउँपालिकाको बजेटले रामसीता मन्दिर बनाउने, रामको अग्लो मूर्ति बनाउने तथा सीतागुफा जानका लागि झुलुङ्गेपुलको व्यवस्था गरिने बताए ।

दत्तसँग गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाका विभिन्न समस्याहरुका बारेमा जानकारी समेत गराएका थिए । अवलोकन टोलीमा वडा अध्यक्ष सुर्य लामा, किशोर तमाङ, ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक कुमार साह, सशस्त्र प्रहरी बेश क्याम्प ठोरीका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहाल, सञ्चारकर्मी लालबाबु बानिया, कृष्ण मोहन साह, मेघराज राय, चिरञ्जीवी सापकोटालगायतको उपस्थित रहेको थियो ।

Back to top