×

वीरगञ्ज १४ कात्तिक । वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालकले आयातित कार्गोलाई दिइने निःशुल्क समयमा मनोमानी गरेको आरोप आयातकर्ताले लगाएका छन् ।

यसै वर्षदेखि बन्दरगाह सञ्चालनको जिम्मा लिएको प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले सार्वजनिक बिदालाई निःशुल्क समयमा गणना गरेर जरीवाना लिएको व्यवसायीले बताए । 

दसैं बिदामा भन्सार बन्द भएकाले आयातकर्ताले मालसामान छुटाउन नसकेकोमा प्रिस्टाइनले बिदालाई निःशुल्क समयमा गणना गरेको वीरगञ्ज उद्योग वाणिज्य संघका कर तथा राजस्व समिति संयोजक सुरेश रुङ्गटाले बताए ।

बन्दरगाह सञ्चालकले बोराबन्द (बीसीएन) कार्गोमा दसैं बिदाको समयमा समेत जरीवाना लिएको रुङ्गटाले जानकारी दिए । सरकारले भन्सार कार्यालयका कर्मचारीलाई बडादसैंको फूलपातीदेखि पाँच दिन बिदा दिएको थियो । बिदामा भन्सारका यात्रु शाखाबाहेक अन्य कामकारवाही बन्द थिए ।

त्यो समयमा बन्दरगाहमा आइपुगेका कार्गोमा समेत प्रिस्टाइनले निःशुल्क समय घटाएर जरीवाना तिर्न भनेको व्यवसायीको गुनासो छ । ‘भन्सार नै बन्द भएपछि मालसामान छुटाउन पाइएन । तर, बन्दरगाह सञ्चालकले बिदाको समेत जरीवाना तोकिरहेको छ,’ रुङ्गटाले भने । बन्दरगाहमा आइपुगेको बीसीएन कार्गो लैजान आयातकर्ताले पाँच दिन निःशुल्क समय पाउँछन् ।

यो समयभित्र लैजान नसके व्यवसायीले प्रतिमेट्रिकटन रू. ७५ का दरले जरीवाना बुझाउनु पर्दछ । २ हजार ५ ०० मेट्रिकटनको एक र्‍याक कार्गोमा आयातकर्ताले प्रिस्टाइनलाई दिनकै रू. १ लाख ८७ हजार ५०० बुझाउनु पर्दछ । बिदाको समयमा जरीवानाले आयातकर्तालाई अप्ठेरो परेको भए समाधानका लागि आफूहरू तयार रहेको प्रिस्टाइनका मुख्य अधिकृत आदित्य रायले बताए ।

‘दसैंको बिदाका कारण मालसामान लैजान नसक्दा जरीवानाले भार परेको छ भने हामी सहुलियत दिन तयार छौं,सरोकारका व्यवसायीले त्यसको जानकारी हामीलाई दिनुपर्‍यो,’ रायले भने ।

एक र्‍याक कार्गो ओसार्न कम्तीमा सात दिन लाग्ने अयातकर्ता बताउँछन् । यसअघिको बन्दरगाह सञ्चालकले बीसीएन कार्गोका लागि सात दिन निःशुल्क समय दिएको थियो ।

प्रिस्टाइनले यस्तो समय शुरूमा तीन दिनमा झारेकोमा सरकारी दबाबपछि ५ दिन गरेको छ । यस आधारमा पनि व्यवसायीले कम्तीमा दुई दिनको जरीवाना तिर्नुपर्ने बाध्यता छ । 

प्रिस्टाइनले कन्टेनर र फलामजन्य कार्गोमा पनि समय घटाइदिएको छ । कन्टेनरका लागि तीन दिनबाट घटाएर दुई र फलाममा सात दिनको समयलाई पाँच दिनमा झारेको रुङ्गटाले बताए ।

कन्टेनर कार्गोमा प्रतिकन्टेनर दैनिक रू. ३५० र फलाममा प्रतिमेट्रिकटन रू. ७५ विलम्ब शुल्क लिने गरिएको छ । 

निःशुल्क समयको सहुलियत र जरीवानाको दर नेपाल इन्टरमोडल यातायात विकास समितिसँग भएको ठेक्का सम्झौताअनुसार निर्धारण गरिएको बन्दगाह सञ्चालकको भनाइ छ ।  आर्थिक अभियान दैनिकबाट साभार ।

Back to top