×

वीरगञ्ज १२ कात्तिक ।  भारतको विहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान सुरू भएको छ । कोरोना महामारीका बीचमा विहारमा मतदान सुरू भएको बीबीसीले जनाएको छ । 

२४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको छ ।

विहारमा पहिलो चरणमा १६ जिल्लामा ७१ सीटका लागि मतदान भइरहेको छ ।

नीतीश कुमारको पार्टी जेडीयूबाट ३५, भाजपाका २९, जीतनराम मांझीको हम-एसका ६ र मुकेश सहनीको वीआईपीबाट एक सीटमा उम्मेदवार छन । त्यसैगरी आरजेडी ४२, काङ्ग्रेस २१ र सीपीआईएमएलले ८ सिटमा आफ्नो उम्मेदवार उठाएका छन् ।

पहिलो चरणमा लोक जनशक्ति पार्टीले पनि आफ्नो ४१ वटा उम्मेदवारलाई उठाएको छ । पार्टीले पहिलो चरणमा जेडीयूका सबै ३५ वटा उम्मेदवार विरुद्ध आफ्नो उम्मेदवारलाई मैदानमा उतारेको छ ।

यस पटक लोक जनशक्ति पार्टी एनडीए भन्दा बाहिर छ । चिराग पासवानले नीतीश कुमारको विरुद्ध मतदान गर्न अपील गरिरहेछन् ।

पहिलो चरणमा विहारको १३ करोड मतदातामध्ये २ करोड १४ लाख भन्दाबढीले मताधिकार प्रयोग गर्नेछन । मतदानको दोस्रो चरण ३ र अन्तिम चरणको ७ नोभेम्बरमा छ । बिहारको चुनाव परिणाम १० नोभेम्बरमा आउनेछ ।

प्रमुख उम्मेदवार

पहिलो चरणको चुनावमा गया टाउन विधानसभा सीटबाट सबैभन्दा धेरै २७ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी बांका जिल्लाको कोटेरिया विधानसभा क्षेत्रबाट सबैभन्दा कम पाँच जनाले आफ्नो उम्मेदवारी दिएका छन् ।

पहिलो चरणको मतदानमा कयौं शीर्ष नेताहरु मैदानमा छन् । जमुईबाट राष्ट्रमण्डल खेलको सुटिङ्गमा स्वर्ण पदक जित्ने २७ वर्षीय श्रेयासी सिंह भाजपाको टिकटमा चुनाव लडिरहेकी छन् ।

चिराग पासवान जमुई लोकसभा क्षेत्रबाट सांसद छन् र उनले श्रेयासी सिंहलाई समर्थन गरेका छन् । श्रेयसी राजदका विजय प्रकाश यादवलाई टक्कर दिरहेकी छन् ।

विजय प्रकास २०१८ मा जमुईबाट विधायक चुनिएका थिए । विजय प्रकाश यादव पूर्व केन्द्रीय मन्त्री जयप्रकाश यादवका भाई हुन् । जयप्रकाश यादवकी छोरी दिव्य प्रकाश पनि तारापुर विधानसभा क्षेत्रबाट उम्मेदवार छिन ।

यसबाहेक गया टाउनमा भाजपाका प्रेम कुमार, लखीसरायका विजय कुमार सिन्हा, बाँकाका रामनारायण मण्डल, जहानाबादका कृष्णनंदन प्रसाद सिन्हा, दिनाराका जयकुमार सिंह र राजपुरका सन्तोष कुमार निराला रहेका छन् ।

इमामगंजबाट बिहारका पूर्व मुख्यमन्त्री जीतनराम मांझी चुनावी मैदानमा छन् र उन विरुद्ध आरजेडीले उदय नारायण चौधरीलाई खटाएको छ । उदय नारायण चौधरी जेडीयू परित्याग गरी आरजेडीमा आएका छन् ।

प्रतिस्पर्धा

यसपटक बिहार चुनावमा मुख्य प्रतिस्पर्धा नीतीश कुमारको नेतृत्वमा एनडीए र तेजस्वी नेतृत्वको गठबन्धन बीच भइरहेको छ ।

नीतीश कुमार लगातार चौथो पटक मुख्यमन्त्री बन्नका लागि जनादेश खोज्दैछन् ।

आरजेडी नेतृत्वको गठबन्धनमा कांग्रेस र वामपन्थी दलहरू छन् । गठबन्धनले बिहारमा बेरोजगारी र कोरोना महामारीको सुरुमा बन्दको कारण उत्पन्न अवस्थालाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् ।

तेजस्वी यादव विपक्षी दलका मुख्यमन्त्री उम्मेदवार हुन् र १० लाख जनतालाई सरकारी रोजगारी दिने वचन दिएका छन् ।

अर्कोतर्फ, नीतीश कुमार विगत १५ बर्षदेखि बिहारका मुख्यमन्त्री छन् र उनि विरुद्ध सत्ता विरोधी लहरको कुरा भइरहेको छ । आफु पराजित भए विहारमा पुन: 'जंगल राज' फिर्ता आउने नीतीश कुमारले दावी गरिरहेका छन् ।

नीतीश अघि बिहारमा लालूप्रसाद यादव र उनकी श्रीमतीको शासनकाललाई मिडिया र विपक्षी दलहरुले 'जंगल राज' को संज्ञा दिने गरेका थिए ।

अर्कोतर्फ ३० वर्षीय तेजस्वी यादवले नितिश कुमारलाई रोजगार र शिक्षाको सवालमा घेरा हालेका छन् । 

Back to top