×

वीरगञ्ज १२ कात्तिक । पर्सामा १६, बारामा एक र रौतहटमा एक गरी थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो तिन दिनदेखि बन्द रहेको पिसिआर परिक्षण पुन: सुचारु हुँदा मंगलबार गरिएको परिक्षणमा ७ जना महिलासहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार कुल ९९ जनाको परिक्षण गरिएको थियो ।

पर्याप्त थ्रोट स्वाबको सेम्पल जम्मा भएर नआउँदा शनिबारदेखि रोकिएको पिसिआर मंगलबारबाट सुरु भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि भएकामध्ये पर्साका एक जना ३६ वर्षीय महिला चिकित्सक र एक जना २८ वर्षीय नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान रहेको अस्पतालका प्रवक्त एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० मा तिन र वडा नम्बर १६ मा दुई जना संक्रमित भेटिएको डाक्टर चौरसियाले बताए । त्यसैगरी वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ३, ६, ९, १३, १६ र ३० मा पनि एक/एक जनामा संक्रमण पुष्टि भएको उनले जानकरी दिए ।

त्यसतै पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ मा एक र जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मा एक जनामा संक्रमण देखिएको उनले बताए ।

उता बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २ मा एक र रौतहटको परोहा नगरपालिका वडा नम्बर ४ मा एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा १२ वर्षीय बालकदेखि ६१ वर्षीय वृद्ध समेत रहेका छन् । उनीहरुको सिटि भ्याली १५ देखि ३१ सम्म रहेको डाक्टर चौरसियाले जनाएका छन् । सिटि भ्यालु २४ भन्दा माथि रहेको संक्रमितले अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना कम रहेको विज्ञहरुले बताउँने गरेका छन् ।

Back to top