वीरगञ्ज ११ कात्तिक । नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे जाहेरी दर्ता गर्न माग गर्दै मंगलवार पाँचौ दिन पनि विरोध प्रदर्शन भएको छ ।
नेकपा विन्दवासिनि गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा भएको दुई पक्षविचको झडपका क्रममा घाइते भई उपचारको क्रममा निधन भएका मुकेश चौरसियालाई न्यायको माग गर्दै लगातार ५ दिनदेखी प्रदर्शन भइरहेको छ ।
आज १ घण्टा ५ मिनेट मौन धारण, प्रहरीको विरुद्धमा नारावाजी गर्नुका साथै पर्सा प्रहरी प्रमुख गङ्गा पन्तको पुतला समेत दहन गरिएको अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साहले जानकारी दिनुभयो ।
हाम्रो मुद्धा दर्ता गर, हत्यारालाई कारवाही गर, निकम्मा प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाउँदै सयौँको उपस्थितीमा विरोध प्रदर्शन गरिएको साहले बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सचिब विजय महतोको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा जिल्ला ईन्चार्ज रामचन्द्र साह, नेकपाका नेताहरु छोटेलाल यादब, बालगोपाल थापा, बालेश्वर थारु, मनोज चौधरी, अरुण यादब, मालती कुश्वाह लगायतको उपस्थिती रहेको थियो ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले प्रहरीले जोहरी दर्ता नगरे देशैभर आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।