वीरगञ्ज १० कात्तिक । नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले नेकपाका नेता एवम् संविधानसभा सदस्य राजकुमार गुप्ताको योजनामा पर्सा घट्ना भएको दाबी गरेका छन् ।
आइतबार सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै नेता यादवले गुप्ताकै निर्देशनमा विन्दवासिनी गाँउपालिकाका पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्या भएको भए पनि प्रहरीले किटानी जाहेरी नलिएको आरोप लगाए ।
असोज ६ गते गाँउपालिकाको शपथ ग्रहणमा दोहोरो झडप हुँदा घाइते भएका चौरसियाको उपचारका क्रममा ज्यान गएको थियो ।
आफुले गृहमन्त्री रामबहादुर थापासँग कुराकानी गर्दा समेत मुद्दा दर्ता हुने जानकारी पाएको भन्दै यादवले पर्सा सिडिओ र प्रदेश डिआइजीले भन्दा समेत मुद्दा दर्ता नभएको बताए ।
'गृहमन्त्रीको पनि कुरा चल्दैन भने त प्रधानमन्त्रीले नगर भनेर भनेको होला या प्रधानमन्त्रीको अफिसको मान्छेले भन्यो होला । एउटा कमरेडको हत्या हुन्छ, कमरेडले इन्साफ पाउँदैन भने आम नेपाली जनताले कसरी निसाफ पाउँछ? 'यादवले भने,' राजकुमारको नाम पेटबोलीमा दिनुस् न भन्ने एसपीको जवाफ छ । घटनास्थलमा नगएको भन्ने प्रहरीको भनाइ छ । योजनाकार घटनास्थलमा जादैन, त्यसैले राजकुमारविरूद्ध मुद्दा दर्ता नभएमा त्यसको अर्थ हुँदैन ।'
मुख्य योजनाकारको नाम नदिइकन गरिएको मुद्दा कमजोर हुने समेत उनले बताए ।
'सर्वसम्मत सपथ गराउने निर्णय भएको हो । राजकुमारको असन्तुष्टि पार्टीमा जानकारी पनि छैन । तर उनले नै योजना बनाएर आफ्नै साथीहरुको हत्या गरेका छन्,' यादवले भने,'पार्टीमा तस्करको बोलवाला बढ्दै गएपछि यस्तै हुन्छ । इमान्दारहरु पाखा लाग्छन् । पैसावालहरूमात्रै अघि बढ्छन् ।'
घटना हुँदैछ भनेर एसपीलाई जानकारी गराउँदा समेत एसपीले वास्ता नगरेको यादवको आरोप छ । सबैतिरबाट दबाब आएपछि गुप्ताको घरबाट आक्रमणकारीहरू फेला परेको भए पनि माथिको आदेशमा गुप्तालाई छोडिएको र अरूलाई पनि उपचार गर्ने वहानामा भगाइएको यादवले बताए ।
पार्टीको सदस्यता समेत नभएकालाई गाँउपालिकामा पार्टीको अध्यक्ष र सचिव बनाउने योजना सफल नहुँदा गुप्ताले घटना गराएको यादवको भनाइ छ ।
गुप्ताले आफूनिकटसँग आक्रमण गर्न भनेको भए पनि मार्न नभनेको भनेर भन्ने गरेको यादवको दाबी छ ।
नेकपा पर्सा इन्चार्ज एवम् केन्द्रीय सदस्य रामचन्द्र शाह तेलीले पर्सा घटनालाई पूर्वएमाले र पूर्वमाओवादी भनेर जोड्न नमिल्ने बताए ।
'म पूर्वएमालेबाट इन्चार्ज हो । नागेन्द्र चौधरीजी प्रदेश २ को सह इन्चार्ज हो । गाउँ कमिटीका सबै साथीहरू आन्दोलनमा छन् । मृतक चौरसिया पूर्वमाओवादी पक्षधर भए पनि गाउँ कमिटी सचिव र पर्सा जिल्ला कमिटी सदस्य हुन्,' रामचन्द्रले भने,'एमाले र माओवादीको कुनै विवाद छैन । यहाँ सबै मिलेका छन् । राजकुमारका केही मान्छेहरुले त्यसो भन्न सक्छन् ।'
सिडिओले यसअघिनै मुद्दा दर्ता हुन्छ भनेको भए पनि मुद्धा दर्ता नहुनु रहस्यको विषय भएको उनले बताए ।
कसैको निर्देशनमा मुद्दा दर्ता नभएको हुनसक्ने उनले बताए।
शनिबार विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेका थिए ।