वीरगञ्ज ८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता सूर्यनारायण साहले मुकेश चौरसियाको हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।
नेता साहले राजनिति दवाबमा जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा समेत दर्ता गर्न नमान्नु र समाजमा अराजक व्यक्तिहरूको संरक्षण गर्नु निन्दनिय रहेको बताएका छन् ।
पिडितलाई न्याय दिलाई दोषीमाथि कारवाही नभए राष्ट्रिय व्यापीरुमा आन्दोलन समेत गर्ने साहले चेतावनी दिएका छन् ।
यसैबीच अनेरास्ववियू पर्साले पनि शनिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै घट्नामा संलग्नहरुलाई छिटोभन्दा छिटो पक्राउ गरेर कारवाही गर्न माग गरेको छ । संगठनका पर्सा जिल्ला सह-संयोजक मित्रदेव यादवले जारी गरेको प्रेस विज्ञप्तिमा दोषीलाई कारवाही नगरिए कडा आन्दोलन चेतावनी दिइएको छ ।
'दोषीलाई उन्मुक्ति दिन खोजिए अनेरास्ववियू आन्दोलनमा उत्रिन बाध्य हुन्छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ पर्सौनी भाठामा कार्तिक ६ गते नेकपा बिन्दबासिनी गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रम बिथोल्ने उद्देश्यले एक समूहले हुलहुज्जत गरी नेकपाका कार्यकर्ताहरु माथि आक्रमण गर्दा झडपमा परी मुकेश चौरसियाको ज्यान गएको थियो ।
प्रहरीले पिडितको किटानी जाहेरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पार्टीका नेता कार्यकर्ताले आन्दोलनको कार्यक्रम जारी राखेका छन् भने जाहेरी दर्ता नभएसम्म आफन्तजनले शव नबुझ्ने भएका छन् । मृतक चौरसियाको शव नारायणीअस्पतालको शवगृहमा राखिएको छ।