वीरगञ्ज ८ कात्तिक । नेकपाका नेता एवम् पूर्वमन्त्री मातृका यादवले पुँजीवादी लोकतन्त्रलाई बढावा दिँदा अराजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरुले राजनीतिमा स्थान पाएको बताएका छन् ।
पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै वीरगञ्जमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्वमन्त्री यादवले संविधानसभा सदस्य राजकुमार गुप्ता प्रति संकेत गर्दै अराजनीतिक पृष्ठभूमिका व्यक्तिहरुको कारण राजनीति हिंसक बन्दै गएको बताए । उनले राजनीतिकलाई पैसा कमाउने भाँडोको रुपमा प्रयोग गर्नेहरुको कारण यस्ता घट्नाहरु हुनेगरेको बताए । राजकुमार गुप्ता घट्नाको प्रमुख योजनाकार रहेको आन्दोलनरत पक्षको आरोप छ ।
यादवले जिल्ला प्रहरी कार्यालयले पर्साले हत्या जस्तो जघन्य अपराधको किटानी जाहेरी समेत दर्ता नगर्नु लज्जास्पद भएको बताउँदै दु:ख व्यक्त गरे ।
'प्रहरीले एउटा हत्याको मुद्दा दर्ता गर्न मानिरहेको छैन, कस्तो कानुन र प्रशासन छ यहाँ हो? 'यादवले प्रश्न गर्दै भने, 'म त् कम पढेलेखेको छु, एसपी साहिबाले त् मास्टरसम्म पढ्नु भएको छ भनेर सुनेको छु, उनको कानुनले यस्तो अपराधको मुद्दा दर्ता गर्न कहाँ रोकेको छ?'
उनले चौरसियालाई न्याय नपाएसम्म आफ्नो आन्दोलन नटुंगिने बताए । 'हामी सडकदेखि केन्द्रसम्म आन्दोलन गर्न तयार छौं तर मुकेश चौरसियालाई न्याय नपाएसम्म हाम्रो आन्दोलन रुक्नवाला छैन ।'
पर्साको विन्दवासिनी गाउँपालिकामा बिहिबार नेकपाले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा दुई पक्ष बीच भएको झडपमा परेर गाउँपालिका सचिव मुकेश चौरसिया मृत्यु भएको थियो । उनको हत्यामा संलग्न व्यक्तिहरुलाई पर्सा प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
चौरसियाको हत्यामा मुख्य भूमिका खेलेको भन्दै संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ता, बसरुद्दीन अन्सारीलगायतको नाम अगाडी आएको छ । प्रहरीले बिहिबार उनीहरुसहित ८ जनालाई नियन्त्रणमा लिएपनि केहि बेरपछि उनीहरुलाई छाडिएको थियो ।
पर्सा प्रहरीले अहिलेसम्म चौरसियाको हत्या बारे मुद्दा समेत दर्ता गरेको छैन । प्रहरीले गृह मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालयको आदेश समेत अटेर गरेको नेताहरुको आरोप छ ।