×

वीरगञ्ज ७ कत्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका मुकेश चौरसियाको निधन भएको छ ।

वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका उनको शुक्रबार बिहान मृत्यु भएको हो । झडपमा चौरसियाको टाउकोमा गम्भीर रुपले चोट लागेको थियो ।

चौरसियाको उपचारको क्रममा निधन भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले पुष्टि गरे ।

उनको न्युरो अस्पतालमा अईसियूमा राखेर उपचार चलिरहेको थियो । टाउकोमा धेरै जोरले हिर्काएको कारण उनको टाउकोमा ठुलो चोट लागेर अत्याधिक रगत बगेको चिकित्सकहरुले बताएका थिए ।

पार्टीले बिहिबार गाउँपालिकाको वडा नम्बर ५ पर्सौनीभाठामा आयोजना गरेको गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफुलाई नासमेतिको भन्दै विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका दर्जनौं व्यक्ति घाइते भएका थिए ।

प्रहरीले झडपमा रहेका केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ । चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार समेत थिए ।
 

Back to top