×

वीरगञ्ज ७ कत्तिक । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा र बाराका विभिन्न स्थानबाट ल्याइएको ७६ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ ।

अस्पतालले उपलब्ध गराएको जानकारी अनुसार ७६ जनाको परिक्षणमा २ महिलासहित पर्साका १०, बाराका ३ र रौतहटका एक जनामा कोरोना पुष्टि भएको हो ।

पर्सामा संक्रमण पुष्टि हुनेमा दुई जना आर्मी जवान पनि रहेका छन् । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले दिएको जानकारी अनुसार उनीहरु ३४ वर्ष र २४ वर्षका पुरुष हुन् ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर २ मा दुई जना र वडा नम्बर ४, १०, १३ र १४ मा एक/एक जना संक्रमित भेटिएका छन् । पर्साको ग्रामिण क्षेत्र बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ मा एक र कालिकामाई गाउँपालिका वडा नम्बर १ मा पनि एक जना संक्रमित भेटिएको डाक्टर चौरसियाले जानकारी दिए ।

उता बाराको जितपुरसिमर उपमहानगरपालिका वडा नम्बर २ मा एक जना, पर्सौनी गाउँपालिका वडा नम्बर ७ मा एक जना र परवानीपुर गाउँपालिका वडा नब्मर ३ मा एक जनामा संक्रमण देखिएको उनले बताए । रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर ९ का पनि एक जना संक्रमित भएका छन् ।

संक्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ५० वर्ष उमेर समुहको रहेका छन् भने उनीहरुको सिटि भ्यालु २० देखि ३४ सम्म रहेको छ ।

Back to top