×

वीरगञ्ज ६ कत्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् ।

पार्टीले बिहिबार गाउँपालिकाको वडा नम्बर ५ पर्सौनीभाठामा आयोजना गरेको गाउँपालिका कमिटिको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफुलाई नासमेतिको भन्दै विरोध गरेपछि झडप भएको हो । झडपमा दुवै पक्षाका दर्जनौं व्यक्ति घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कार्यक्रमस्थलमा प्रवेश नपाएपछि भएको विवाद लाठी हानाहान भएको थियो । दुबै पक्षबाट एक दर्जन भन्दाबढी घाइते भएका छन् । जसमध्ये सामान्य उपचार गराएर केहि डिस्चार्ज भएका छन् ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले कार्यक्रमबारे प्रहरीलाई पूर्व जानकारी नगराइएकाले शपत ग्रहण कार्यक्रममा प्रहरी नपुगेको बताए । ‘झडपको खबर पाउनासाथ प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘दुबै पक्ष गरी केहि व्यक्ति घाइते भएका छन् । 

जसमध्ये एक जनाको अवस्था गम्भीर छ ।’ उनका अनुसार लाठी प्रहारबाट टाउको फुटेको परसौनीभाठा निवासी मुकेश चौरिसयाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

उनको वीरगन्जकै एक निजी अस्पतालमा उपचार भइरहेको छ । दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको उपचार नेशनल मेडिकल कलेजमा भइरहेको छ ।

दुई पक्षबीच झडप भए पनि शपथ ग्रहण कार्यक्रम रोकिएन । पार्टी अध्यक्ष प्रभु हजराले दुखदायी घटना घटेको बताए । ‘विन्दवासनीमा बहुत गलत भएको छ,’ उनले भने, ‘दुई विशाल पार्टी मिलेर भएको एकतामा केही नयाँ मान्छे पनि आएका छन् । पार्टीमा अझै सिस्टम बसिसकेको छैन ।’ उनका अनुसार जिल्लामा खासै विवाद थिएन । आफू कार्यक्रमस्थल नपुग्दै झड्प भइसकेको उनले जनाए ।

यता संविधानसभा सदस्य एवम् नेकपाका नेता राजुकुमार गुप्तासहित ८ जना पक्राउ परेका छन् । घट्नामा संलग्न भएको आरोपमा गुप्ताको रानीघाटस्थित घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

Back to top