×

वीरगञ्ज ४ कात्तिक । प्रदेश २ मा प्रदेशसभा सांसदहरूले सदनको बैठकमा भर्चुअल सहभागिता जनाएको पनि भत्ता बुझेका छन् । 

कोभिड—१९ को महामारीले जनता गरिबी र भोकमरीमा परेका बेला प्रदेशसभाका माननीयहरूले घरमै बसेर बैठकमा सहभागिता जनाउँदा पनि भत्ता बुझेका हुन्।

सूचना प्रविधिमार्फत संसद् बैठकमा सहभागिता जनाएका प्रतिसांसदलाई प्रतिबैठक १ हजार भत्ता उपलब्ध गराइएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत नवीन मिश्रले जानकारी गराए ।

‘भर्चुअल मिटिङमा बसेका सांसदज्यूहरूलाई प्रदेशसभा बैठकमा झैं भत्ता उपलब्ध गराएका छौं तर उहाँहरूलाई सवारी भत्ता बापतको पाँच सय दिएका छैनौं’, मिश्रले भने ।

संघीय सरकारले चैत ११ देखि लकडाउन घोषणा गरे पनि सो अवधिमा भीडभाड गर्न नहुने भन्दै प्रदेशसभा बैठक स्थगित गरिएको थियो । जेठ २१ देखि प्रदेशसभामा भौतिक दूरी कायम गरी कुर्सीहरू सोहीअनुसार मिलाएर बैठक सुरु भएको थियो ।

संवैधानिक प्रावधानअनुसार असार १ गते प्रदेशसभामा सरकारले बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेस गर्नुपर्ने हुनाले बैठक बस्नु आवश्यक थियो । तर, सोही बेला केही सांसदमा कोरोना संक्रमण देखिएपछि बैठक सञ्चालनमा समस्या आएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी अरुणकुमार झाले बताए ।

Back to top