×

वीरगञ्ज ३ कात्तिक । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा उदहारणीय भूमिका खेलेको भन्दै उपप्रधानमन्त्री इश्वर पोखरेलले वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको प्रशंसा गरेका छन् । 

पर्सा कोरोनाभाइरस महामारीको हटस्पट बनेको बेला सम्पूर्ण जिल्लाको नेतृत्व लिएर महानगरपालिकाका मेयर सरावगीले खेलेको भूमिकाबाट सबैले सिक्नुपर्ने उनले बताएका छन् ।  

मानवअधिकार एलाइन्स र मानवीय जवाफदेहिता अनुगमन अभियानले आयोजना गरेको भर्चुवल छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको केन्द्रबिन्दु बनेको वीरगञ्ज क्षेत्रमा आइसोलेशन व्यस्थापनदेखि कोभिड अस्पताल स्थापना र सञ्चालनमा समेत मेयर सरावगीले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरेका थिए ।  

उनले संक्रमण रोग नियन्त्रण सम्वन्धी विद्यमान कानुनमा केही समस्या देखिएको र कोभिड नियन्त्रणमा तीन तहको सरकारबीच समन्वय हुन नसकेको स्वीकार समेत गरेका थिए । केही कानुनी जटीलताका कारण कोभिड नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाले खर्च गरेको रकम समेत सोधभर्ना गर्न अप्ठ्यारो अवस्था सामना गर्नुपुरेको मन्त्री पोखरेलले बताए । 

कोभिड नियन्त्रणको सन्दर्भमा वीरगञ्जले खेलेको भूमिका नेपालकै लागि नयाँ मोडल हुन सक्ने उपप्रधानमन्त्री पोखरेलले बताएका थिए । 

छलफलमा मेयर सरावगीले समयमा सीमा नियन्त्रण गर्न नसक्दा काठमाडौँ उपत्यकालगायत देशभर कोरोनाको प्रभाव उच्च दरमा देखिएको बताए ।

उनले कोभिड नियन्त्रणमा नागरिकलाई जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए । जनताको नजिकको सरकार स्थानीय सरकार भएकोले कोभिड नियन्त्रणमा स्थानीय सरकारले कानुनी अधिकारको बाटो खोलिदिनुपर्ने उनले आग्रह समेत गरेका थिए । 

मानवअधिकार एलाइन्स र मानवीय जवाफदेहिता अनुगमन अभियानका अध्यक्ष तथा राष्ट्रिय योजना अयोगका सदस्य मिन वहादुर शाहीको अध्यक्षतामा सम्पन्न छलफलमा विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, गैर सरकारी संस्था महासंघका  अध्यक्ष जितराम लामा, स्वास्थ्य विज्ञ शरद वन्त लगाएत विभिन्न अधिकार क्षेत्रमा कार्यरत नागरिक अगुवाहरुले आफ्नो धारणा राखेका थिए ।
 

Back to top