×

वीरगञ्ज ३ कात्तिक । सरकारले तोकेअनुसारको अन्तःशुल्क नतिर्दा गोर्खा ब्रुअरीका बियर गौदाममै थन्किएका छन्। ब्रुअरीका बियरमा चामलको मात्रा बढी फेला परेसँगै बजारमा जान पाएको छैन । आन्तरिक राजस्व विभागले बियरमा जौको मात्रा कम भेटिएपछि उच्च अल्कोहलयुक्त रक्सीसरह अन्तःशुल्क लगाएको थियो । 

विभागले प्रतिलिटर ४ सय ३० रुपैयाँ अन्तःशुल्क निर्धारण गरेको छ । तर कम्पनीले भने प्रतिलिटर १ सय ६५ रुपैयाँमात्रै तिर्ने दाबी गर्दै आएको छ । विवादकै कारण कम्पनीले विभागले तोकेअनुसार अन्तःशुल्क तिरेको छैन । जसका कारण बियर बजारमा जान सकेको छैन ।

विभागले गोदाममा सिल गरेको नभई ब्रुअरीले नै अन्तःशुल्क स्टिकर खरिद नगरेका कारण गोदाममै रोकिएको जनाएको छ । आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीबाट उत्पादन हुने बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा कम रहेको भन्दै १७ प्रतिशतभन्दा धेरै अल्कोहल हुने रक्सीसरह नै कर लगाउने निर्णय गरेको थियो ।  

राजस्व विभागले भन्सार विभागलाई ५० प्रतिशतभन्दा कम जौ प्रयोग गरी उत्पादन भएका बियरको वर्गीकरण गर्न पत्र पठाएको थियो । भन्सार विभागले एकीकृत दरबन्दी वर्गीकरणको भाग २२ मा उल्लेखित व्यवस्थाअनुसार गोर्खा ब्रुअरीको बियरलाई अन्यमा वर्गीकरण गरिदिएको हो । जुन न्यून गुणस्तरीय मानिन्छ । 

भन्सारबाट प्राप्त वर्गीकरणअनुसार नै आन्तरिक राजस्व विभागले आन्तरिक राजस्व कार्यालय नवलपुरलाई पत्र लेख्दै गोर्खा ब्रुअरीका बियरलाई उच्च दरमा अल्कोहलमिश्रित मदिरासरह अन्तःशुल्क लगाउन भनेको छ । बियरमा जौको मात्रा ५० प्रतिशतभन्दा धेरै हुनुपर्ने व्यवस्था अन्तःशुल्क ऐनमा छ । त्यसैअनुसार अन्तःशुल्कको दर निर्धारण गरिएको हो । 

जसअनुसार कार्यालयले गोर्खा ब्रअरीका उत्पादनमा प्रतिलिटर ४३० रूपैयाँ अन्तःशुल्क लगाएको छ । जौको मात्रा ५० प्रतिशतभन्दा धेरै भएको बियरमा अन्तःशुल्क प्रतिलिटर १६५ रूपैयाँ लाग्छ । जौबाट बनेका बियरलाई अन्तःशुल्क वर्गीकरणअनुसार शीर्षक नम्बर २२०३.००.०० मा राखिन्छ । 

भन्सार विभागले गोर्खा ब्रुअरीका बियर अन्य शीर्षकमा वर्गीकरण गर्न र तोकिएअनुसार जौबाट बनेको बियरको तुलनामा तीन गुणा धेरै करको दर कायम गर्न सिफारिस गरेको छ । त्यसैअनुसार कर कार्यालयले अन्तःशुल्क धेरै लाग्ने बताएपछि कम्पनीले ७ दिन उत्पादन नै रोकेको थियो । कम्पनीले आइतबारबाट उत्पादन निरन्तरता दिएको राजस्व कार्यालय कावासोतीले जनाएको छ । बियर उद्योगमा राजस्वले अन्तःशुल्क अधिकारी खटाएको हुन्छ । 

आन्तरिक राजस्व विभागले असोज १६ गते आन्तरिक राजस्व कार्यालय कावासोती नवलपुरलाई पत्र पठाउँदै कम्पनीबाट उत्पादन हुने बियरमा जौको मात्रा कम भएको भन्दै कमसल बियरमा वर्गीकरण गरिदिएको थियो । विभागले वर्गीकरण पठाएसँगै कार्यालयले उच्च दरको अन्तःशुल्क दर तय गरिदियो । 

नयाँ अन्तःशुल्क दर कायम भएपछि गोर्खा ब्रुअरीका केही उत्पादन बजारमा गएको छैन । कर कार्यालयले ४३० रूपैयाँ प्रतिलिटर अन्तःशुल्क दर निर्धारण गरिदिएपछि कम्पनीका उत्पादन बजारमा पठाइएको छैन । अहिले उसले इन्ग्रिडेन्ट्स परिवर्तन गरेर उत्पादन सुरु गरेको जानकारी कर कार्यालयलाई गराएको छ । आन्तरिक राजस्व विभागले कर कार्यालयलाई कम्पनीले यसअघि प्रयोग गरेको इन्ग्रिडेन्ट्सको विवरण, सामानको स्टक र बजार पठाउन बाँकी बियरको स्टक लिन पनि भनिसकेको छ । 

विभागले देशभरका कार्यालयबाट बियर उद्योगले आफ्ना उत्पादनमा प्रयोग गर्ने वस्तुहरू (इन्ग्रिडेन्ट्स) को मात्रा संकलन गर्न लगाएको थियो । संकलित इन्ग्रिडेन्टस् प्रयोगशाला परीक्षणका लागि भन्सार पठाइएको थियो । भन्सार विभागले गोर्खा ब्रुअरीको उत्पादनलाई अन्य वर्गमा वर्गीकरण गर्दै त्यसको जानकारी आन्तरिक राजस्व विभागलाई गराएको थियो ।

Back to top