×

निजगढ २ कात्तिक । निजगढ नगरपालिकाको आयोजनामा आइतबार बाराको निजगढमा महिला हिंसा तथा जेष्ठ नागरिक अपमान न्यूनीकरणसम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधाम र ईलाका प्रहरी कार्यालय निजगढको सहयोगमा गोष्ठी सम्पन्न भएको हो ।

निजगढ नगरपालिकाको सभाहलमा आयोजित गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधि र महिला अधिकारको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । 

कार्यक्रममा महिला नेतृहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागलाई संघीय प्रहरी कार्यालय प्रदेश २ जनकपुरधामका प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले प्रशिक्षण दिएका थिए ।

निजगढ नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक लिलादेवी खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले महिला हिंसा र ज्येष्ठ नागरिक अपमान अन्त्य भएमात्रै सभ्य समाज निर्माण हुनसक्ने बताए । 

एसएसपी दाहालले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य र ज्येष्ठ नागरिकहरुको सम्मानका लागि समाजका हरेक तह र तप्का सचेत हुनुपर्नेमा जोड दिए । 

कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य सरिता राई र स्वागत जगतकुमारी अधिकारीले गरेकी थिइन । कार्यक्रममा नगरपालिकाकोतर्फबाट एसएसपी दाहाललाई सम्मानित गरिएको थियो ।

Back to top