×

वीरगञ्ज २ कात्तिक । बारा जिल्लास्थित कलैया उपमहानगरपालिका कार्यालयले सूचना लुकाएको आरोप लागेको छ । उपमहानगरपालिका कार्यालयले कोरोनाभाइरस अर्थात कोभिड-१९ नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा लागेको खर्चको विवरण लुकेको युवाहरुले आरोप लगाएका छन् । 

कलैयामा स्थानिया युवाहरुले आइतबार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उपमहानगरपालिका कार्यालयले अधुरो सूचना उपलब्ध गराएको बताएका छन् । 

उनीहरुले सूचनाको अधिकार प्रयोग गरेर कार्यालयबाट सूचना माग गर्दा अधुरो सूचना उपलब्ध गराएको बताएका हुन् ।
 
कोरोनाभाइरस महामारी नियन्त्रणको लागि सरकारले लगाएको निषेधाज्ञा र लकडाउनको समयमा उपमहानगरपालिका कार्यालयले वितरण गरेको राहत, व्यवस्थापन गरेको क्वारेन्टिन, आइसोलेशन, सचेतनामुलक प्रचार प्रसार, स्वास्थ्य सामग्री तथा उपकरण खरिदलगायत शिर्षकहरुमा गरेको खर्चको विवरण सूचनाको अधिकार प्रयोग गरी माग गरेका थिए ।

तर, उपमहानगरपालिका कार्यालयले अधुरै विवरण उपलब्ध गराएको उनीहरुको भनाई छ । उनीहरुले भ्रष्टाचार लुकाउन कार्यालय र जनप्रतिनिधिहरुले विवरण लुकाएको बताएका छन् । 

पत्रकार सम्मेलनमा बोल्दै नेकपाका युवा नेता डा. सुशील साहले उपमहानगरपालिका कार्यालयले कोभिड व्यवस्थापनमा दुई करोड भन्दा बढी खर्च गरेको भएपनि ५७ लाख ४७ हजार ४ सय ८ रुपैयाँको विवरण मात उपलब्ध गराएको उनीहरुले बताए । 

उनले उपमहानगरपालिकाबाट प्राप्त भएको विवरणमा नर्मल थर्मामिटर, सर्जिकल मास्क, पीपीई सेट, रेनकोट, भिटीएम किट र आइसोलेशनमा मेष सञ्चालनको मात्र खर्च उल्लेख गरिएको जानकारी दिए । तर, कार्यालयले गरेको अन्य खर्चको कुनै विवरण उपलब्ध नगराइएको उनले बताए ।
 

Back to top