×

वीरगञ्ज २ कात्तिक । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरु तथा प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय बीच वीरगञ्जको व्यापार, व्यवसाय प्रवर्दन तथा वीरगञ्ज–पथलैया करिडोरको विविध समस्याहरुको बिषयमा दुई पक्षिय छलफल भएको छ ।
    
वीरगञ्ज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ताको अध्यक्षतामा शनिबार सम्पन्न भएको भेटवार्तामा वीरगञ्जको उद्योग, कल–कारखाना तथा बिजनेस व्यापारको विविध आयममा छलफल भएको थियो । व्यवसायीहरुले उद्योग मन्त्री रायलाई उद्योगको वर्तमान स्थिति र औद्योगिक करिडोरको अवस्था तथा निजी क्षेत्रको अपेक्षाको बारेमा जानकारी गराएका थिए ।
    
उद्योगीहरुले प्रदेश सरकारले उद्योग मैत्री वातावरणको सृजना गर्नुपर्ने, अर्थ तथा उद्योगसँग सम्बन्धी मन्त्रालय तथा कार्यालयहरु वीरगञ्जबाट सञ्चालन गर्नुपर्ने माग मन्त्री सामु अगाडि सारेका थिए ।

संघका कार्यवाहक अध्यक्ष गुप्ताले मन्त्री रायसँग उद्योगलाई सहज हुने महत्वकांक्षी योजनाहरुको निर्माण, फास्ट ट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल, वीरगञ्ज ठोरी हुलाकी राजमार्गलगायतको विकासे योजनाहरुको विषयमा समेत छलफल भएको बताए ।

अध्यक्ष गुप्ताले औद्योगिक करिडोर हालसम्म स्थापना हुन नसकेको तथा संघ सरकार यसमा गम्भीर नरहेको सन्दर्भमा प्रदेश सरकारले यसको स्थापना गर्न विशेष पहल गर्नुपर्ने राय व्यवसायीहरुले मन्त्री रायलाई दिएको बताए । 

संघका पदाधिकारीहरु सहितका उद्योगीहरुले वीरगञ्ज ठोरी हुलाकी राजमार्गमा थुपै ठाउँमा खाली जग्गा रहेको मन्त्री रायलाई जानकारी गराउँदै जग्गाको पहिचान गरी उद्योगको लागि जग्गा उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्न सक्ने सुझाव दिएका थिए ।

लकडाउनको अवधिमा कर तथा जरिवाना तिर्न व्यवसायीहरुलाई साह्रै समस्या भइरहेको तर्फ समेत मन्त्री रायको व्यवसायीहरुले ध्यानाकर्षण गराएका थिए । साना तथा घरेलु कार्यालयले लिने गरेको कर र जरिवानाको विषयमा मन्त्री रायले एक साताभित्र ठोस निर्णय लिएर कर छुट गराउने आश्वासन दिएका छन् । 

मन्त्री रायले लकडाउनको अवधिमा व्यवसायीहरु मारमा परेको विषय सबैलाई जानकारी रहेको तथा प्रदेश सरकार यसमा गम्भीर रहेको बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यालयमा सम्पन्न भएको छलफलमा संघका महासचिव माधव राजपाल, सचिव मनोज दास, सह सचिव प्रेम चन्द, सुरेश रुङ्गटा गोयल, सदस्य शिवजी साह, रिमा साह लगायतका पदाधिकारी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो । देशकै ठूलो औद्योगिक करिडोर वीरगञ्जमा रहेको भए पनि संघ र प्रदेश यसको विकास तथा व्यवस्थापनमा उदासिन रहँदै आएको छ ।

Back to top