×

वीरगञ्ज ३० असोज । क्रिस गेल र कप्तान केएल राहुलको उत्कृष्ट प्रदर्शनमा किङ्स इलाभेन पञ्जाबले आईपीएलमा दोस्रो जित हात पारेको छ ।

 

यूएईमा जारी प्रतियोगितामा पञ्जाबले बिहीबार राति रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

 

सारजाह क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले २० ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

 

पञ्जाबको जितमा कप्तान केएल राहुल र क्रिस गेलले अर्धशतकीय इनिङ्स खेले । राहुलले ४९ बलमा अविजित रहदै ६१ रन बनाए ।

 

गेलले ४५ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस सिजन पहिलो पटक पञ्जाबको प्लेइङ सेटमा परेका गेलले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।

 

यस्तै मायांक अग्रवालले ४५ रनको योगदान दिए । निकोलस पुरन ६ रनमा अविजित रहे । बेङ्ग्लोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

 

बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए ।

 

देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए । क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे ।

 

पञ्जाबका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए ।

 

जितसँगै पञ्जाबले ८ खेलमा ४ अंक जोडेको छ । पञ्जाब पुछारमा रहेको छ । पञ्जाबले यस सिजन लगातार दोस्रो खेलमा बेङ्ग्लोरलाई हराएको हो । यसअघिको पहिलो भेटमा पनि पञ्जाबले बेङ्ग्लोरलाई ९७ रनले हराएको थियो ।

 

बेङ्ग्लोरको यो तेस्रो हार हो । बेङ्ग्लोरले ८ खेलमा १० अंक जोडेको छ र उ तेस्रो स्थानमा यथावत छ ।

Back to top