×

वीरगञ्ज २८ असोज । अफगानिस्तानका विद्रोही समूह तालिवानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् ।

आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

बाघलान प्रान्तको गोजारगाह-ए-नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्रमण गरेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नजिकै रहेको प्रान्तीय प्रहरी मुख्यालय नजिक पनि भिडन्त भइरहेको छ । तालिबान तर्फ के कति क्षति भयो भन्ने खबर प्राप्त भइसकेको छैन ।

अफगान सेना र प्रहरीका लागि अमेरिकी सैनिकले समेत बन्दोबस्तीको प्रबन्ध गरिरहेको अफगानिस्तानस्थित अमेरिकी सैनिक कमान्डले जनाएको छ ।

उक्त हमलाका बारेमा थप विवरण आउन बाँकी छ । अफगान सरकार र तालिवानबीच कतारको दोहामा प्रत्यक्ष वार्ता जारी रहे पनि अफगानिस्तानभित्र हिंसात्मक झडपहरु भइरहेका छन् ।

तालिवान र अमेरिकाबीच शान्ति स्थापनार्थ एक सम्झौतामा हस्ताक्षर भए पनि दिगो शान्ति स्थापनामा अझै जटिलताहरु रहेका छन् ।

Back to top