×

कोरोना र लकडाउन अघिको मेरो दैनिकी बिहान साढे ६ बजे विद्यालय पुगेर विद्यार्थीहरूको अतिरिक्त कक्षासँगै सुरु हुन्थ्यो । बिहान ९ बजे विद्यालय खुलेपछि भने म सहायक प्रधानाध्यापक रूपमा जिम्मेवारी लिएर काम गर्ने गर्थे । साथै ९ र १० मा गणित विषयको कक्षा पनि लिने गर्थे ।

मेरो काम अभिभावकको गुनासो, शिक्षक शिक्षिकाको समस्याको सहजीकरण र विद्यार्थीको कुरा अनुसार विद्यालयमा व्यवस्थापन गर्नु र पढाउनु दुवै थियो । विद्यालय स्थापन भएको १० वर्ष सम्म आइ पुग्दा यसले कमाएको इज्जत, प्रतिष्ठा र उचाइलाई पनि डगमगाउन नदिनु पनि उत्तिकै आवश्यक थियो । किनभने १० वर्षको अवधिमा नै अनुशासन सहित गुणस्तरीय शिक्षाको कारणले गर्दा हामीले सयौँ अभिभावकको मन जित्न सफल भइसकेका थियौँ । यस कुरालाई निरन्तरता दिनका लागि पनि दिनहुँ विद्यालयमा सहकर्मीहरूसँग छलफलमा गर्ने गर्थे ।

अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको समस्या र गुनासोलाई सुन्दै काम गरिरहँदा जिम्मेवारीको बोझ नभएर अनुभवको चाङजस्तो लाग्थ्यो जसबाट हरेक दिन केही न केही नयाँ कुरा सिकिरहेको हुन्थे।

विद्यालयका अलावा मेरो दैनिकीको अर्को पाटो पत्रकारिता कर्म पनि थियो । मेरो पत्रकारिता कर्म २०६६ सालमा रेडियोबाट सुरु भएको हो । विभिन्न रेडियोमा काम गरेको मैले एक वर्ष जति छापा पत्रिकामा पनि काम गरे । केही महिनादेखि म यस कर्मबाट विश्राम लिएर बसेको थिए । तर मेरा पुराना सहकर्मीहरूले नै सञ्चालन गरेका एउटा अनलाइन र छापा पत्रिकामा फेरि सहकार्य गर्न अनुरोध गरेपछि भने २०७६ फागुनदेखि भने साँझ त्यतातिर समय दिने गर्थेँ । विद्यालयबाट घर पुगेर एकै छिन विश्राम गरेर पत्रिकाको कार्यालय पुग्ने म, राति ९ बजेतिर मात्र घर फर्किन्थे । भन्नु पर्दा त्यस बेला मेरो परिवार र अझ छोराको लागि त समय नै दिन पाउँदिन थिए । चैत ५ गते अघिको मेरो दैनिकी भ्याई नभ्याई हुन्थ्यो ।

तर अहिले मेरा समय यसको ठिक विपरीत छ । पहिले काम गर्न भ्याई नभ्याई हुने म अहिले काम विहीन जस्तै छु । चैत ५ देखि सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द भए पश्चात् कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गर्‍यो । विद्यालय त पूर्ण रूपमा बन्द नै थियो । साँझको समयमा पत्रिकाको काम भने जारी थियो । बाँकी बिहान र दिउँसोको समय आमा, श्रीमती र छोरासँग घरमा नै बस्थे । पहिले छोरालाई समय दिन नपाएको मैले अहिले भने यथेष्ट समय दिन पाए ।

सरकारले चैत ११ देखि नै लकडाउनको घोषणा गरे पनि पर्साको वीर गन्जमा कोरोनालाई सुरुमा कसैले पनि सिरियस रूपमा लिएका थिएनन् । तर जब चैत ३१ गते वीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीयमा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पुष्टि भएपछि वीरगन्ज वासीमा त्रास छायो । चैत ११ गते देखि नै लकडाउन भए पनि सवारीसाधन र शैक्षिक संस्था मात्र बन्द भएको थियो मानिसको चहलपहल सडकमा भइरहेको हुन्थे । तर तीन जनामा कोरोनाको सङ्क्रमण देखिएपछि त सडकमा चसोमुसो पनि देखिन छोड्यो । त्यस बेला सन्नाटा नै छाएको थियो । यो बेला चाहिँ सरकारको लकडाउनको पालना मानिसले स्वतःस्फूर्त रूपमा गरेका थिए । सुरक्षाकर्मीलाई पनि लकडाउन पालना गराउन टाउको दुखाउनु परेको पनि थिएन ।

चैत ३० अघिसम्म कार्यालयमै पुगेर पत्रिकाको कार्यसम्पादन गर्ने गरेको हामीले त्यसयता भने घरबाटै काम गर्न थाल्यौँ । फोनमा विभिन्न जानकारी लिने सहकर्मीहरूसँग अनलाइनमै सहजीकरण गर्दै काम गर्ने गर्‍यौँ ।

त्यसबिच नै मलाई गत फागुनबाट सञ्चालित रेडियोमा समाचार वाचक र कार्यक्रम प्रस्तोताको जिम्मेवारी रहेर काम गर्न अफर आयो । यसै पनि केही काम थिएन । विद्यालय कहिले खुल्ने हो ठेगान थिएन । त्यसैले पूर्व सहकर्मीहरू नै रहेको उक्त रेडियोको अफर सहजै स्वीकारे र वैशाख १७ गतेबाट फेरि रेडियोमा बोल्न थाले ।

अनलाइन, पत्रिका र रेडियोमा कार्यालयमा पुगेर काम गर्दै गर्दा वीरगन्जमा सङ्क्रमण बढिरहेको थियो । सङ्क्रमितहरू थपिदैं थिए । त्यसबिचमा प्रहरीले एक जना सहकर्मी पत्रकारलाई दुर्व्यवहार गरेपछि नेपाल पत्रकार महासङ्घको अगुवाइमा प्रहरी विरुद्ध आन्दोलन सुरु भयो । रेडियोका सहकर्मीसहित वीरगन्जको घण्टाघरमा दुई दिन आन्दोलनमा म पनि पुगेको थिए । वैशाख ३० गते पत्रकारहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । आवतजावत गर्न गाह्रो भएकाले प्रेस पास लिने म पनि सहकर्मीहरूसहित सिडिओ अफिस गए। ज्ञापन पत्र बुझाएपछि प्रेस पास लिने प्रक्रियाबारे बुझेर म पत्रिकाको अफिसमा पुगेर फेसबुक खोलेर हेरेको त आन्दोलनमा सहभागी भएका दुई पत्रकारसहित ३९ जनामा सङ्क्रमण पुष्टि भएको समाचार पढे। त्यसपछि सबैलाई भयो तनाव । कोही होटेलमा आइसोलेट भए । म पनि साँझसम्म कार्यालयमा बसे। अनि साँझ तिर भने घरमै होम आइसोलेसनमा बस्ने निर्णय गरेर घर फर्कने निर्णय लिए किनभने दुई दिन आन्दोलनमा सहभागी भए पश्चात् घरमा आउजाउ गरिसकेका थिए । घरमै होम आइसोलेसन भएको बेला पिसिआर टेस्ट नेगेटिभ आयो । अनि बल्ल तनाव कम भयो । त्यो बिचमा रेडियोमा सबै कार्यक्रम बन्द थियो भने अनलाइनमा भने घरबाटै काम गरिरहेको थिए ।

असारतिर फेरी कोरोना केही सामान्य बने पश्चात् सबै शिक्षक वर्गलाई बोलाएर गत वर्षको अन्तिम परीक्षाको परीक्षाफल तयार पार्यौं र प्रकाशन पनि गर्‍यौँ । अनि कक्षा ९ र १० को अनलाइन कक्षा पनि सुरु गर्‍यौँ । सबै अभिभावक र विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । कक्षामा जम्मा २० देखि ३० प्रतिशत विद्यार्थीको मात्र सहभागिता थियो र त्यो पनि घट्दो क्रममा थियो । सोही बिच, सरकार र विद्यालय सञ्चालकहरूबिच कोरोनाको कारणले निम्तिएको शुल्क समस्या लगायत अन्य विषयमा कुरा नमिलेपछि अनलाइन कक्षा बन्द गर्ने कुरा आयो । कहिले अनलाइन कक्षा चलाउने त, कहिले बन्द गर्ने भन्ने अन्यौलता बिच अन्ततः अनलाइन कक्षा बन्द भयो ।

फेरी साउन सुरु भए यता पर्सामा सङ्क्रमितहरू फेरि ह्वात्तै बढे । त्यसपछि, फेरि सबैको घर बास भो । छ महिना भयो मेरो विद्यालयमा शिक्षकहरूले चैतसम्मको मात्र तलब पाएका छन् । पाँच महिनादेखि शिक्षकहरू तलब विहीन छन् । म अनलाइन र रेडियोमा काम गरिरहेकोले मैले त्यहाँबाट पाँच दश हजार भने पनि कमाइरहेको छु ।

म त जसोतसै घरबार चलाई रहेको छु । मसँगै काम गर्ने करिब ८० देखि ९० जना शिक्षक कर्मचारीको दैनिकी कसरी चलिरहेको होला, सम्झिँदा मन पिरोलिन्छ । अहिले म अनलाइन र रेडियोमा काम गरेर अलिकति पैसा हुँदा त यस्तो स्थिति छ । झन् अन्य शिक्षकहरूको स्थिति त कहालीलाग्दो नै होला भन्ने कुरा म सहजै अनुमान गर्न सक्छु । विद्यालयको तर्फबाट आवश्यकताको आधारमा दुई चार हजार नदिइएको होइन तर त्यो दुई चार हजारले कति दिन धान्छ र ?

विद्यालय पढ्दा देखि नै एक जना गणित शिक्षकले मलाई निकै नै प्रभावित बनाउनु भएको थियो । त्यसैले, सोही बेलादेखि नै पछि गएर शिक्षक नै बन्ने निर्णय मेरो थियो । त्यसमाथि झन् मेरो काका पनि पहिलेदेखि यस क्षेत्रमा हुनहुन्थ्यो । काकाले चलाउनु भएको निजी विद्यालयबाट नै मैले २०६० सालबाट पढाउन सुरु गरेको हो। त्यसपश्चात् अर्को एक विद्यालयमा पनि केही समय काम गरेर राम्रो अनुभव बटुले । त्यसपछि २०६६ सालबाट भने अहिलेको विद्यालयमा निरन्तर काम गरिरहेको छु ।

पहिले देखिकै सोच सोही अनुसार कर्मलाई नै मुख्य केन्द्र बनाएर अघि बढेको मलाई व्यक्तिपुरमा पनि सफलता प्राप्त नै थियो । मैले लगभग निजी विद्यालयको शिक्षक पेसामा १७ वर्ष बिताई सकेको छु । यहीँ पेसाबाट नै यस क्षेत्रमा स्थापित भइसकेको नै थिए भन्दा फरक नपर्ला । यसअघि पनि मधेस आन्दोलनको क्रममा निरन्तर विद्यालयहरू बन्द भए । त्यो बेला छ महिनासम्म पनि विद्यालय बन्द भयो । तर कोरोनाको कारण अहिले विद्यालय बन्द भए जस्तो असर परेको थिएन।

यो १७ वर्षको सम्म यस पेसामा हुँदा म कहिले पनि विचलित भइन् । परिश्रममा विश्वास गर्ने मैले राम्रो नाम र दाम कमाउदैं थिए । सँगै पढ्ने साथीहरू कोही सरकारी कर्मचारी, शिक्षक र अन्य पेसा र क्षेत्रमा छन् । मलाई पनि लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न अग्रज र साथीहरूले नसुझाएका होइनन् । तर किन हो किन मलाई यही क्षेत्रमा भिज्न थाले अरू बारे सोचिन ।

पाँच महिनादेखि कामविहीन र तलबविहीन भएर बस्नु पर्दा भने मन विरक्तिको छ । यो क्षेत्रमा लागेर पछुतो त लागेको छैन तर पनि कहिलेकाहीँ मनमा अन्य ठाउँमा जाने सोच किन आएन भन्नेलाई लाग्छ । हुन पनि त हो नि, अहिले निजी विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारी लगायतकाले मात्रले त हो नि तलब भत्ता नपाएका । नत्र सरकारी पियनदेखि प्रधानमन्त्रीसम्मले तलब पाएका छन् । कति ढुक्क छ उनीहरूलाई जतिसुकै लामो लकडाउन वा निषेधाज्ञा या अरू केही नै किन नहोस् ।

पछिल्लो पटक सरकारले वैकल्पिक शिक्षक सिकाई लाई मान्यता दिने भनेपछि मेरो विद्यालयमा पनि प्रयास भइरहेको छ । अनलाइन कक्षा हुदैंछ । यहाँ विविध समस्या छन् तथापि शिक्षक वर्गको प्रयास जारी छ । तर यसले पाठ्यक्रम अघि बढ्ने र शैक्षिक सत्र पूरा हुने कुरामा भने म विश्वस्त छैन । किनभने सरकारले काठमाडौँलाई हेरेर निर्णय गरेको छ । मोफसलका अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयको समस्या के हो? काठमाडौँले बुझेकै छैन। दैनिक कमाएर खाने अभिभावकलाई छाक टार्न नै समस्या परेको बेला कहाँबाट जोहो गरुन् वैकल्पिक शिक्षण सिकाइका सामाग्री। विद्यालयहरूले पनि अनलाइन कक्षा चलाउँला अनि अभिभावकसँग पैसा उठाएर शिक्षकलाई तलब दिउँला भने अनलाइन कक्षा चलाइरहेका छन् ।

सञ्चालकहरू पकेटबाट पैसा निकालेर तलब खुवाउने होइन अभिभावकले दिन्छन् अनि शिक्षकलाई तलब दिउँला भन्ने सोचमा छन् । तर अहिलेको अवस्थामा मोफसलमा अनलाइन कक्षाबाट पढाई न प्रभावकारी हुन सक्छ । न त अभिभावकले अहिले विद्यालयको शुल्क तिर्न सक्छन् ।

मासिक रूपमा तलब बुझिरहेका अभिभावक पनि तिर्ने मनस्थितिमा छैनन् । उनीहरू पनि कति महिनाको मासिक शुल्कमा छुट हुने हो भनेर पर्ख र हेरको मनस्थितिमा बसेका छन्।

सरकारले असोज १ गतेबाट लामो दुरीका यातायात, हवाई उडा मा र होटेल तथा रेस्टुरेन्ट पनि खोल्न दिएको छन् । शिक्षण संस्था भने कहिलेबाट खुल्ने हुन् अझै अत्तोपत्तो छैन ।

यसरी हामी कसरी बाँच्ने परिवार कसरी चलाउने । पाँच पाँच महिनादेखि तलब विहीन भएर बसेका म जस्ता शिक्षकहरूको समस्याप्रति कसैलाई वास्ता छैन । न सरकारलाई वास्ता छ, न सञ्चालक केही बोल्छन् । मन त्यसै बिरक्तिएको छ ।

Back to top