×

वीरगञ्ज ८ भदौँ । कोरोना जोखिम विश्वभर फैलिरहेको छ । नेपालमा पनि हामी कोरोनासँग जुधिरहेका छौं । सबै तह, वर्ग समुदाय कोरोनाको जोखिममा छ । कोरोनाकै कहरका बीचमा नेपाल प्रहरी पनि छ । ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनका आफ्नै मूल्य, मान्यता र जिम्मेवारी छ । जिम्मेवारी निर्वाहकै क्रममा देशभर सयौं प्रहरी कर्मचारी आफैं संक्रमित भएका छन् । तर हामी हाम्रो मूल जिम्मेवारीबाट पन्छिएका छैनौं ।

सरकारले र संगठनले दिएको निर्देशन पालना गरिरहेका छौं । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र विपत्‌मा अग्रपंतिमा उभिएर प्रहरीले काम गरिरहेको छ । प्रहरीमा कोरोना संक्रमण चाहेर पनि सहज रुपमा रोक्न सकिने अवस्था छैन । प्रहरीमा कसरी कोरोना पस्योभन्दा पनि यसका कारणबारे जानकार हुन जरुरी छ । जनताकै सुरक्षाका क्रममा हामी कोरोना संक्रमणको जोखिममा परिरहेका छौं । कोरोनाविरुद्धको युद्ध प्रहरी एक्लैले लड्ने लडाइँ होइन । प्रत्येक नागरिकले आफ्नै लागि रोगसँग लड्ने युद्ध हो कोरोनाविरुद्धको सचेतना ।

सीमामा जोखिम

अहिले हामी सीमामा पनि खटिएका छौं सशस्त्र प्रहरी बलको टोलीसँगै । सीमाबाट अपराध, चोरी, तस्करीलगायत कुरा हुने गर्छन् । नेपालमा धेरैजसो स्थानमा खुला सीमाना छ सुरक्षाका हिसाबले त्यो निकै चुनौतीपूर्ण छ । त्यसमाथि सीमा क्षेत्रमा ठूलो चुनौती भनेको लागुऔषध तस्करी हो ।

लागुऔषध तस्करीजस्तो जघन्य अपरामा संग्लनलाई हामीले नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउनैपर्छ । फेरि अपराध र अपराधीबाट पूर्वजानकारी हुँदेन । प्राय:जसो लागुऔषध तस्कर भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्न खोज्छन् । यस्तोमा उनीहरुलाई नियन्त्रणमा लिन जाँदा प्रहरी कोरोनाको जोखिममा पर्न जान्छ ।

क्‍वारेन्टिन सुरक्षा

अर्को हो क्‍वारेन्टिन आइसोलेसन सुरक्षामा परिचालन । जहाँ संक्रमित राखिएका हुन्छन् ती स्थानको सुरक्षा पनि प्रहरी दायित्व हो । प्रदेश २ त कतिपय स्थानमा कोरोना संक्रमित बीचै झडप भएको अवस्था छ । क्‍वारेन्टिमै झगडा भएको पाइएको छ । यस्तोमा प्रहरीले उनीहरुलाई रोक्न वा स्थिति नियन्त्रणमा लिन जानै पर्छ । यसबाट पनि हामी कोरोनाको जोखिममा परेका छौं ।

ट्रेसिङ र उद्धार

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ स्वास्थ्यको टोलीले गर्छ । त्यसमा प्रहरीले पनि सहयोग गर्छ ।

ट्रेसिङमा आएकाहरु, संक्रमितलाई लिन प्रहरी पनि जान्छ । यस्तो अवस्थामा पनि कोरोनाको जोखिम बढी रहन्छ । यसबाहेक विपत्‌लगायतमा उद्धारमा खटिँदा पनि कोरोनाको जोखिममा प्रहरी पर्छ ।

थुनुवाबाटै खतरा

अर्को कुरा भनेको विभिन्‍न अपराधमा संग्लन व्यक्ति वा फरार अभियुक्तलाई पक्राउ गरेपछि हिरासतमा राख्नुपर्छ । त्यसपछि कानुनी प्रक्रियामा लैजानुपर्छ । हिरासतमा राखेपछि बयान, सरकारी वकिलको कार्यालय लैजाने र अदालतमा उपस्थित गराउने कार्यमा प्रहरी परिचालन हुन्छ । अपराधीमा समात्दा समात्दै कोरोना जाँच सम्भव हुने कुरा भएन । यस्तोमा कोही थुनुवा संक्रमित भए त्यसको जोखिममा प्रहरीमा सीधै पर्छ । नागरिकजस्तै प्रहरीले अभियुक्त वा अपराधीसँग सामाजिक दूरी कायम गर्न सम्भव छैन । किनभने उनीहरु भाग्‍न सक्छन् ।

आन्दोलन र प्रदर्शनबाट पनि जोखिम

यस्तो महामारीमा आन्दोलन, विरोध प्रदर्शन भनेको कोरोना जोखिम बढाउने सबैभन्दा ठूलो विषय हो । समर्थन वा विरोध जेमा भए पनि एकैपटक सयौंको संख्यामा मानिस सकडमा निस्कँदा एक त उनीहरु आफैंलाई कोरोना जोखिम छ भने अर्कोतिर प्रहरीको उपस्थिति त हुनैपर्छ । यसबाहेक अकस्मात रुपमा हुने प्रदर्शनले जोखिम बढाएको छ । जस्तो कि कुनै स्थानमा हत्याको विरोधमा एकाएक गाउँलेले जुलुस गर्न सक्छन् । चिकित्सकको लापरबाहीभन्दा प्रदर्शन भएका छन् । यस्ता प्रदर्शनको पूर्वानुमान हुँदैन । यस्तोमा हामी नियन्त्रण वा सुरक्षाका लागि पनि पुग्‍नैपर्छ । त्यहाँबाट पनि प्रहरीमा कोरोना जोखिम छ ।

प्रहरी, स्वास्थ्यकर्मी र समुदाय हातेमालो गरौं

यस्तोमा प्रहरी, स्वास्थ्यकर्मी र समुदाय हातेमालो गर्न जरुरी छ । किनभने कोरोना हाम्रो साझा समस्या हो ।

कोरोनाविरुद्धको लडाइँ सहज छैन । सामाजिक दूरी, स्वास्थ्य मापदण्डको पालना, सरसफाइमा ध्यान दिने नै मुख्य कुरा हो । फिल्डमा प्रहरी हुँदा कतिपयले मास्क लगाएका हुँदैनन् । हामीले मास्क लगाउन भन्छौं । अत्यावश्यक काममा ननिस्कन आग्रह गर्छौं । कतिपयले प्रहरीलाई नै नराम्रो व्यावहार गर्छन् । सबैले यो बुझ्‍न जरुरी छ किन हामीले हाम्रो लागि होइन तपाईंकै सुरक्षामा जोड दिइरहेका हौं । यस्तोमा अग्रपंतिमा खटिने सबैको मनोबल बढाउन हामी सबैले जरुरी छ ।

Back to top