×

संजय कुमार सहनी,रौतहट, ८ फागुन । रौतहटमा सशस्त्र प्रहरी बलको सर्च अप्रेसनबाट तस्करहरुमा हडकम्प मचेको छ । सशस्त्र प्रहरी उपरिक्षक कृष्ण ढकालले जिल्लाको विभिन्न यूनिटलाई कडा निर्देशन दिएपछि मातहतका सम्पूर्ण सशस्त्र प्रहरी यूनिट यतिखेर सश्क्त ढगंले तस्करी कार्य रोक्न लागि परेका हुन् । सोही सर्च अभियान अन्र्तगत जिल्लाका विभिन्न स्थानहरुबाट सशस्त्र प्रहरीले २२ लाख मूल्य बरावरको मालसामानहरु बरामद गरेको छ । नेपालबाट भारत तर्फ फर्निचर लोड गरेर गइरहेका नम्वर प्लेट नभएको ट्रेक्टरलाई सशस्त्र प्रहरीको ११ नम्वर गणबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो । यस्तै वृन्दावन नगरपालिकाको हर्षाहामा बनबाट काठ चोरेर ल्याईरहेको अवस्थामा ना. १ त. ६९९१ नम्वरको ट्रेक्टरलाई आज दिउसो नियन्त्रणमा लिएको बताइएको छ । बरामद नियन्त्रणमा लिएका दुवै ट्रेक्टर काठ सहित जिल्ला वन कार्यालयलाई आवश्यक कारवाहीको लागि जिम्मा लगाइएको गणका एसपी ढकालले जानकारी दिए । यसैगरी सिमापारी भारतीय बजारबाट अबैध रुपमा लक्ष्मिपुर वेलविछवा नाका भएर नेपाल प्रवेश गराएका कष्मेटिक र कपडालत्ता सहित दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिदै उक्त सामान करिव ३ लाख २० हजारको बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको बताए । काठ सहित दुई वटा ट्रेक्टर, दुई मोटरसाइकल, कष्मेटिक सामान, कपडा सहित २२ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएर अबैध कारोवार संचालन गर्ने व्यापारीको ढाँड भाँच्चिएको बताउदै सशस्त्र प्रहरीका एसपी ढकालले अबैध व्यापार गर्न पल्केका व्यापारीहरु यहाँबाट पलायन हुने विश्वास व्यक्त गरे । अबैध कार्यलाई नियन्त्रण गर्नमा स्थानीय बासिन्दाहरुको सहयोगको अपेक्षा समेत उनले गरे ।

Back to top