×

वीरगंज १५ जेठ यहाँका उद्योगीले आयात गरेको कच्चा पदार्थ सुख्खा बन्दरगाहका कर्मचारी र ट्रक चालकको मिलेमतोमा चोरी हुने गरेको छ । पीडित उद्योगीले उपलब्ध गराएको सूचनाका आधारमा प्रहरीले वीरगंजको प्रतिमा चोक र बाराको जीतपुरबाट ६ टन भटमासको पिना बरामद गरेपछि चोरीबारे प्रकाशमा आएको हो ।

रुंगटा समूहको विराटनगरस्थित ओम चाओबिरो प्यालेट दाना उद्योगकालागि सुख्खा बन्दरगाहमार्फत् भित्र्याइएकोमध्ये दुई ट्रक(४० टन) भटमास पिनाबाट ६ टन पिना बाटोमै चोरी भएको पत्ता लागेको छ ।

ट्रकमा लोड गरिसकेपछि बाहिर निस्किने समयमा बन्दरगाहको तौल काँटामा हिमालयन टर्मिनल्सका कर्मचारीले २० टनको साटो १७ टनको बजन रहेको प्रमाण पूर्जा जारी गरेका थिए । जीतपुर सिमरा–७ स्थित मुकेश साहको घरबाट १०० बोरा र वीरगंजको रेणुका पेट्रोल पम्प नजिकैको अर्को एक घरबाट ४० बोरा पिना बरामद भएको प्रहरीले जनाएको छ ।रुंगटा समूहले आयातित पिनामध्ये ना ४ ख ४४९८ र ना ४ ख ५०९८ नम्बरको ट्रकमा २०–२० टन लोड गराएर आइतबार साँझ गन्तव्य(विराटनगर)स्थित उद्योगतर्फ पठाएको थियो । उद्योगका संचालक सुरेश रुंगटाले हिमालयन टर्मिनल(ड्राइपोर्ट) का कर्मचारी र ट्रक चालकको मिलेमतोमा लामो समयदेखि चोरी हुँदै आएको बताए । उनले भने,‘ आयातित पिनाभन्दा न्यून परिमाणमा पिना डेलिभरी हुने समस्या पटक पटक दोहोरिन थालेपछि हामीलाई चोरीको आशंका गरेका थियौं,अहिले पुष्टी भयो ।’ हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले चोरीबारे पुष्टी हुने प्रमाण भेटिए आफ्ना कर्मचारीविरुद्ध कारवाही गर्ने प्रतिकृया दिए । जिल्ला प्रहरी कार्यालय बाराकी प्रहरी उपरिक्षक मीरा चौधरीले चोरीमा संलग्न समूहबारे थप अनुसन्धान गरिने बताइन् ।

Back to top